पोर्चुगल- पोर्चुगल र स्पेनको सीमा सुरक्षा बलले ७ सय ४५ किलोग्राम लागुपदार्थ ‘कोकिन’ बरामद गरेको छ। दक्षिण अमेरिकाबाट समुद्री बाटो हुँदै युरोप भित्र्याउन लागिएको अवस्थामा सो परिमाणको कोकिन बरामद भएको हो। कोकिनसँगै जहाजमा सवार ९ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पानी जहाजको कन्टेनरमा राखेर ल्याइएको सो कोकिनलाई अनौठो तरिकाले प्याकिङ गरिएको थियो। पहेलो रङको बट्टाभित्र सुरक्षित तरिकाले प्याकिङ गरी बाहिरबाट ताजा भुइँकटहरको बोक्राले र्याप गरेर ल्याएको अवस्थामा लागुपदार्थ फेला पारिएको थियो।
हेर्दा भुइँकटहर जस्तो देखिने भए पनि यो समय भुइँकटहरको आपूर्ति गर्ने समय नभएकोले शंका लागेर खानतलासाी गर्दा लागुपदार्थ बरामद भएको स्पेनिस प्रहरीले जनाएको छ।
गत वर्षको अप्रिलमा बाहिर आएको यस्तै लागुपदार्थ सम्बन्धी तस्करीको यो अर्को पाटो भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। दुवै देशका प्रहरी अधिकारीहरुले युरोपमा पटक पटक भित्रिने लागुपदार्थ तस्करी बारेमा संयुक्त रुपमै गत अप्रिलदेखि अनुसन्धान गरिरहेका छन्।
एक पोर्चुगिच अनुसन्धानकर्ताले पटकपटक युरोपीय महाद्विपमा ठूलो परिमाणमा लागुपदार्थ तस्करी हुनुको पछाडि संगठित अन्तर्राष्ट्रिय समूहको हात रहेको बताए। उनका अनुसार यो परिमाण हालसम्मकै धेरै तस्करी गरिएको मध्येमा पर्दछ।
इबेरियन प्रायद्वीपलाई युरोपमा कोकिन र अन्य औषधि तस्करी गर्ने मुख्य प्रवेशबिन्दु मानिन्छ। जहाँ ल्याटिन अमेरिका र उत्तरपश्चिम अफ्रिकाबाट सिधै लागुपदार्थको ओसारपसार गर्ने गरिएको पाइन्छ।बिबिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।