कैलाली– टीकापुरका पत्रकार जयसिंह ज्यामीको निधन भएको छ। नेपाल पत्रकार महासंघ कैलालीका साधारण सदस्यसमेत रहेका ज्यामीको उपचारका क्रममा काठमाडौंको अन्नपूर्ण हस्पिटलमा निधन भएको परिवारले जनाएको छ।
एक्कासी प्रेसर बढेपछि ज्यामीलाई एक साताअघि टीकापुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो। टीकापुर अस्पतालमा उपचार हुन नसकेपछि उनलाई नेपालगञ्ज हुँदै काठमाडौं लगिएको थियो।
ठमाडौंमा उपचार गराइरहेका ज्यामीको मंगलबार बेलुका निधन भएपछि बुधबार साँझ ज्यामीको शव जानकी गाउँपालिकास्थित खैरीफाँटास्थित उनको निवासमा ल्याइएको छ। बिहीबार ज्यामीको अन्तिम संस्कार गरिएको छ।
३९ वर्षीय ज्यामीका श्रीमती र दुई छोरा छन्। ज्यामी पत्रकारितासँगै कला र संगीत क्षेत्रमा आबद्ध थिए। उनले टीकापुरमै कलावन्त संगीत प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका थिए। पत्रकारितासँगै, संगीतकार, साहित्यकार र कलाकारको भूमिकामा रहेका ज्यामीको निधनले ठूलो क्षति पुगेको पत्रकार महासंघ कैलाली शाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।