काठमाडौं- प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलताको लागि सहयोग पुर्याआउन सबै राजनीतिक दलसँग आग्रह गरेका छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन अधिकृत लगायत कर्मचारीका लागि आयोजित निर्वाचन सञ्चालन प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै यादवले निर्वाचनको व्यवस्थापनमा कुनै प्रतिकूल गतिविधि नगर्न सबैलाई आग्रह गरे।
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी विशेषरुपमा अघि बढाइएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले संघीय संसद्को पूर्णताका लागि यो निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको दायित्व भएको जिकिर गरे।
प्रशिक्षणमा मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशसमेत २३ जनाको सहभागिता छ।
आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले राष्ट्रियसभाको निर्वाचनको मतगणना कार्य जटिल भएकाले सोका लागि केन्द्रले प्राविधिक टोली खटाउने सोच बनाएको जानकारी दिए।
उनका अनुसार महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकसमेत गरी प्रत्येक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभामा ५६ जना सदस्यका लागि निर्वाचन हुनेछ। ५९ सदस्य रहने राष्ट्रियसभामा बाँकी ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ।
यही माघ २४ गते बुधबारका दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
सात वटा प्रदेशका ती जिल्लामा मतदान केन्द्र रहनेछन्। उक्त निर्वाचनका लागि चार वटा मतपत्रको नमूना आयोगले तयार पारेको छ। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार फरक फरक रहेकाले मतदान केन्द्र पनि फरक फरक राख्न आयोगले गृहकार्य गरिरहेको छ।
मतगणनामा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ। स्थानीय तहअन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता रहने प्रावधान छ।
उक्त निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १ हजार ५ सय ६ तथा प्रदेशसभाका ५ सय ५० सदस्य गरी दुई हजार ५६ जना मतदाता हुनेछन्।
राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको निर्वाचनको नतिजा सार्वजनिक भएसँगै संघीय संसद्ले पूर्णता पाउनेछ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।