प्योङयाङ (एजेन्सी)- उत्तर कोरियाले शीतकालीन ओलम्पिक सुरु हुन एक दिनअघि सैन्य परेडको आयोजना गर्ने भएको छ।
आगामी फेब्रुअरी ९ देखि दक्षिण कोरियामा सुरु हुने ओलम्पिकको पूर्वसन्ध्यामा उत्तरले दक्षिणतर्फको सीमा नजिकै ठूलो संख्यामा सैनिकको परेड आयोजना गर्ने भएको हो। सो दिनलाई उत्तरले आफ्नो सैन्य बलको ७०औं स्थापना दिवसका रुपमा मनाउने गर्छ।
उत्तर कोरियाले कम्तीमा पनि १२ हजार जना सैनिक सम्मिलित परेड गर्ने बताइएको छ। उक्त परेडमा सेनाको कौशलका साथै हातहतियारहरुको पनि प्रदर्शनी गरिनेछ।
आफ्नो सेनाको शक्ति प्रदर्शनका लागि उत्तरले ओलम्पिकको अघिल्लो दिनलाई अवसर पारेकोलाई भने विश्व राजनीतिमा फरक अर्थमा लिएको छ।
फेब्रुअरी ९ देखि २७ सम्म हुने शीतकालीन ओलम्पिक खेलमा यी दुवै देशले एउटै झन्डामा मार्चपास गर्ने बताइरहँदा उत्तरले यस्तो तयारी गरेको हो।
ओलम्पिक खेलमा उत्तरको संलग्नताको कुरापछि पछिल्लो समय दुवै कोरिया नजिकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।