नयाँ दिल्ली– भारतीय सर्वोच्च अदालतको न्यायाधीश विवाद सुल्झाउन प्रधानन्यायाधीश दिपक मिश्रले अग्रसरता लिएका छन्। आफू विरुद्ध पत्रकार सम्मेलन गर्ने ४ न्यायाधीशसँग मिश्रले बुधबार भेट गरेका छन्।
अदालतमा देखिएको विवाद अन्त्य गर्नका लागि आफूसँग असन्तुष्ट रहेका न्यायाधीशहरु जे चेलमेश्वर, रंजन गोगोई, मदन वी लोकुर र कुरियन जोसेफसँग बैठक गरेका छन्। उनीहरुसँगै सर्वोच्चका अन्य चार जना न्यायाधीश एके सिकरी, एनवी रमन्ना, डिवाई चन्द्रचुँड र युयु ललित समेत बैठकमा सहभागी थिए। करिब ३० मिनेट चलेको बैठकमा उनीहरुले आफ्नो असहमति राखेका थिए।
विवाद सुरु भएको एक सातापछि न्यायाधीशहरुबीच बैठक भएको हो। चार न्यायाधीशले व्यक्ति छानेर मुद्दाको पेशी तोक्ने कार्य प्रधानन्यायाधीशले गरेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेका थिए।
बुधवारको छलफलपछि बिहीवारका लागि असन्तुष्ट चार न्यायाधीशलाई प्रधानन्यायधीशले लञ्च मिटिङको निम्तो दिएका छन्।
न्यायालय स्रोतका अनुसार असन्तुष्ट चार न्यायाधीश आफ्नो पुरानै अडानमा कायम छन्। उनीहरुले प्रधानन्यायाधीश मिश्रलाई आफ्नो मागपत्र लिखित रुपमा बुझाएका छन्। उनीहरुले पेशी तोक्ने परम्परा परिर्वतन हुनुपर्ने र आगामी दिनमा कार्ययोजनासहित आउन लिखितपत्रमा माग गरेका छन्। बार काउन्सिल र सुप्रिम कोर्ट बार एसोसिएसनले पनि जारी विवाद समाधानका लागि स्थायी प्रक्रिया बनाउन माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।