नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा रहेका सबै सरकारी विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरिने भएको छ।
आगमी ३ महिनाभित्र दिल्लीका सबै सरकारी विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरिने लक्ष्य लिइएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत जानकारी दिएका हुन्।
मोबाइल फोनमा एप्लिकेसन डाउनलोड गरेर प्रत्येक अभिभावकले कक्षाकोठामा आफ्ना छोराछोरीको वास्तविक अवस्थाको बारेमा जानकारी लिन सक्नेछन् । मुख्यमन्त्री केजरीवालले यस्तो कदमले हरेक विद्यालय प्रशासनलाई पारदर्शी तथा जावाफदेही बनाउने दाबी गरे।

दिल्ली सरकारले यो अभियानलाई विशुद्ध रुपमा बालबालिकाको सुरक्षालाई ध्यानमा राखेर अगाडि ल्याइएको बताएको छ।
गत सेप्टेम्बरमा दिल्लीस्थित एक विद्यालयको शौचालयमा घाँटी काटिएको अवस्थामा एक ८ वर्षीया विद्यार्थी भेटिएकी थिइन्। सो घटनामा विद्यालयका कर्मचारी नै संलग्न रहेको पाइएको थियो। घटना दिल्लीबाट करिब ३२ किमि दुरीमा पर्ने गुडगाउँस्थित रायन इन्टरनेशनल स्कुलमा भएको थियो।
त्यसको केही दिनपछि दिल्लीबाट पूर्वमा रहेको एक विद्यालयमा ५ वर्षिया छात्राको जबरजस्ती करणी प्रयास गरिएको थियो।
विद्यालयमा विद्यार्थीहरुलाई लगातार रुपमा अशुरक्षित हुने वातावरण पैदा हुन थालेपछि दिल्ली सरकारले यस्तो योजना ल्याउन लागेको हो।
दिल्ली सरकारको उक्त कदमलाई केही अभिभावकले स्वागत गरे पनि केहिले भने ‘हास्यास्पद’ भनी मुख्यमन्त्री केजरीवालको ट्विटमा 'कोट रिट्विट' गरेका छन्। कतिपयले भने यो कार्यलाई ‘निगरानी समाज’को संकेतका रुपमा तर्क गरेका छन्।
एक ट्विटर प्रयोगकर्ताले कडा शब्दमा लेखेका छन्,‘एउटा वास्तविक समय भिडियो ट्रयाकरले स्कुलका विद्यार्थीमाथि हुने अपराध नियन्त्रणका लागि मात्रै नभई उनीहरुको नैतिक चुनौती तथा व्यवहारका लागि पुलिसको समेत भूमिका निभाउनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।