बार्सिलोना– स्पेनिस महारथी क्लब बार्सिलोना पाँच महिनापछि पराजित भएको छ। बार्सिलोनालाई कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इस्पान्योलले १–० ले पराजित गरेको हो।
बार्सिलोनाले गत अगस्टमपछि पहिलो पटक पराजय भोगेको हो। अगस्टमा स्पेनिस सुपर कपमा रियल म्याड्रिडसँग २–० ले पराजित भए यता बार्सिलोना अपराजित थियो।
बुधबार राति बार्सिलोनालाई पराजित गर्ने क्रममा इस्पान्योलका ओस्कार मेलेन्डोले खेल सकिन २ मिनेट बाँकी छदा गोल गरेका थिए। उनले मार्क नाभारोको क्रसमा गोल गरेका थिए।
त्यसअघि खेलको ६२ मिनेटमा बार्सिलोनाले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न सकेन। सर्जि रोबर्टोलाई फल गरेपछि प्राप्त पेनाल्टीमा स्टार खेलाडी लिओनल मेसीको प्रहारलाई इस्पान्योलका गोलकिपर डिएगो लोपेजले विफल पारे।
क्वार्टफाइनलको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा आगामी २५ जनावरीमा हुनेछ।
प्रतियोगिताको अन्य खेलमा सेभिल्लाले एट्लेटिको म्याड्रिडलाई २–१ ले हराएको छ भने भ्यालेन्सियाले एलाभेसलाई पनि २–१ ले नै पराजित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।