काठमाडौं- घरायसी काममा होस् यात बाहिरी, देशमा होस् या विदेशमा, महिला हुन् या त पुरुष नै, कुनै न कुनै रुपमा हामी काममा व्यस्त छौं। दैनिक कामकै सिलसिलामा कत्तिलाई परिवारबाट टाढा रहनु परेको, कतिपय समयमा त परिवारसँग साथमै रहे पनि समय दिन नसकेको लाग्ने हामी धेरै हौंला।
अझै धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व, कार्यक्रम तथा रीतिरिवाजलाई परिवार र आफन्तसँग जोडिने माध्यम मानिए पनि पछिल्लो समय यो अवसर पनि धेरैका लागि सदुपयोग गर्न नसकिएको लाग्नसक्छ।
यही अवस्थालाई विषयवस्तु बनाएर एक तीज गीत बजारमा आएको छ। तीज नजिकिँदै गर्दा श्रमजीविहरुको आवाज मुखरित हुनेगरी तीज गीत सार्वजनिक गरेकी हुन् गायिका मञ्जु पौडेलले। गीतमा विशेषतः कामको चापमा परेकी एउटी महिलाको भावनालाई केन्द्रमा राखिएको छ। जसलाई गीतको थेगोबाट स्पष्ट बुझ्न सकिन्छः
काम भन्दै गयो मेरो आधा उमेर
घन्काइदेउ मादलु नाच्छु घुमेर।
कामकै पछि दौडिँदा आधा उमेर बितेको भए पनि यसपटक तीजमा भने सबै कुरा बिर्सिएर नाच्छु, परिवारलाई समय दिन्छु भन्ने गीतको केन्द्रीय पात्रले बोल्छ। अझै उनले आफ्ना साथीसंगी र परिवारका सदस्यलाई पनि यसमा समेटिन आग्रह गरेको गीतका शब्द सुन्दा प्रष्ट हुन्छ।

नेपाली लोकसंगीत क्षेत्रमा पछिल्लो समय चटपटे र ठट्यौली गीतले अधिकतम बजार हिस्सा ओगटेको यो समयमा यस्तो गीत किन त?
गायिका पौडेल भन्छिन्, ‘बजार सधैं प्रधान हुँदैन। हाम्रा आफ्नै मौलिकता छन्। बजारको नाममा हाम्रो संस्कृतिको गरीमा भुल्नु हुँदैन। बजारकै पछि दौडिने हो भने लोकसंगीतको हालत के होला?’
उनले तीज गीतमा अभिव्यक्त हुने विषयवस्तुमा समयक्रमसँगै परिवर्तन आएको स्वीकारिन्। तर, उनलाई कम्तीमा त्यस्ता शब्दले पछिल्लो परिवेशलाई भने थोरै हदसम्म अँगालेको लाग्छ। भन्छिन्, ‘समयक्रमसँगै हाम्रो दैनिकी फेरिएको छ। अहिलेको मान्छेले लेख्ने, बोल्ने र अगाँल्ने भनेको अहिलेकै समय हो। गीतमा पनि सोही कुराको प्रभाव परेको हुनसक्छ। तर, प्रभावको नाममा लोकसंगीतको मर्म भने भुल्नु हुँदैन।’
तीजका गीतमा समेटिने विषयवस्तुमा आएको भिन्नताबाहेक थप अर्को कुरा पनि फेरिएको छ। कुनै समय तीजका गीत विशुद्ध रुपमा महिलाले मात्रै गाउनुपर्छ भन्ने चलन थियो। तर, केही वर्षयता तीज गीतमा पुरुष अनिवार्य जस्तै भइसकेका छन्।
लेख्ने, गाउनेका अलावा नाच्नमा समेत पुरुष अनुहार देखिनु हिजोआज सामान्य जस्तै लाग्छ। यही मेसोमा जोडिएका हुन् यसै गीतका सर्जक दिग्गज धौराली।
‘महिलाको मनोभावनालाई गीतमा उतार्नु चुनौतिपूर्ण हुँदैन र?’ भन्ने प्रश्नमा धौराली भन्छन्, ‘तीजलाई महिलाले मात्रै गाउने/नाच्ने चाडकै रुपमा बुझिएको अवश्य हो। तर, उनीहरुका गीत हुन् या अन्य दैनिकी, अधिकांश अवस्थामा कुनै न कुनै रुपमा हामी पुरुष जोडिएका हुन्छौं। आमा, दिदीबहिनी, श्रीमती, माइजू, भाउजू लगायतको मनोदशाबारे कम्तीमा हामी व्यवहारिक रुपमै जानकार छौं। र उत्तिकै मात्रामा उहाँहरु हाम्रो बारेमा पनि। यस्तो अवस्थामा जसको भावना जसले लेखे पनि हुन्छ।’

पछिल्लो समय व्यस्त दैनिकीको मारमा हामी धेरै परेका छौं। जो आवश्यकता र बाध्यता दुवै होला। यही वास्तविकताले महिलालाई पुर्याएको प्रभावलाई गीतमा उतारेको सर्जक धौरालीले बताए। ‘यसको मर्म कामको छायामा परिवार र हाम्रो संस्कृति पर्नु हुँदैन भन्ने नै हो,’ उनले भने।
संगीतकार अर्जुन पोखरेलले यस गीतको लय सिर्जना र संगीत संयोजन गरेका छन्। पोखरेल पछिल्लो समय फिल्मी संगीतमा व्यस्त भए पनि उनी लोकसंगीतबाटै नेपाली संगीत क्षेत्रमा भित्रिएका हुन्। यद्यपि उनले अहिले पनि लोकगीत तथा दोहोरी गीतको लय सिर्जना तथा संगीत संयोजन गर्न छोडेका छैनन्।
तीजका समयमा दिने कोसेलीको रुपमा उनी हरेक वर्षजस्तै उनी यसपटक ‘नाच्छु घुमेर’मार्फत श्रोतादर्शकमाझ जोडिन आइपुगेका हुन्।
शिव विकले निर्देशन गरेको गीतको भिडियोमा स्वयम् गायिका पौडेल र सञ्चारकर्मी अनुषा पौडेलले कम्मर मर्काएका छन्।
गीतको भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।