केही दिनअघि लोकदोहोरी गायक बद्री पंगेनीले फेसबुकमा आफूले गाएको तीजको गीतको पोस्टर सार्वजनिक गर्दै स्टाटास लेखे, ‘समयले तीजको गीत गाउन बाध्य बनाएको अवस्था भनेर बुझिदिनुस्, अनि स्वाभाविक गाली गर्न पाइने जानकारी गराउँदछौं।’ उनी खासमा पुरुषले तीज गीत गाउनु हुँदैन भन्ने पक्षका कलाकार। आखिर त्यस्तो के बाध्यता आइलाग्यो त? गायक पंगेनीसँग नेपाल लाइभका अनिल यादवले कुराकानी गरेका छन्।
'समयले तीज गीत गाउन बाध्य भइयो' भनेर स्टाटस लेख्नुभयो। त्यस्तो के बाध्यता आइलाग्यो?
(हाँस्दै) तीज गीत गाउन त गाउँतिर गाएरै यहाँसम्म आएको हो। तैपनि खासमा तीजको गीत हामीले रेकर्ड नगरे पनि हुने हो। अहिले दिदीबहिनीको मन राख्दिनका लागि भए पनि गाउनुपर्ने अवस्था आयो। फेरि अहिले तीज पर्व पनि एक किसिमले पुरुषकै जस्तो हुन लागिसक्यो। पहिले-पहिले महिला दिदीबहिनीहरु एकदमै पीडामा हुनुहुन्थ्यो, सासुबुहारीका कुराहरु हुन्थे, गीतमा उहाँहरुले भोगेका वेदनाका कुराहरु बढी हुन्थे, तर अहिले अवस्था त्यस्तो रहेन।
भलै महिला अधिकारका कुराहरु व्यवहारमा लागू गर्न धेरै नै बाँकी छन्, तर तीज पहिलेजस्तो महिलाहरुको मनमा गुम्सिएको पीडाहरु पोख्ने पर्वका रुपमा मात्र सीमित छैन। अहिले दृश्य त्यस्तो छैन। अहिले तीजलाई जमघट, रंग-रमाइलोको रुपमा बढी लिइन थालियो। त्यसैले हामीले गाउँदा पनि अब खासै फरक नहुने अवस्था आयो। त्यसैले गायिका सिर्जना अधिकारीले गाइदिनुस् भनेपछि नाइँ भन्न सकिएन। तीजका बेलामा चेलीको मन किन दुखाउने भन्ने पनि भयो। त्यसैले गाउन बाध्य भइयो।
चेलीहरुले गाउने अनुरोध त पहिलेदेखि गरिरहेकै हुन् नी। त्यतिबेला चाहिँ उहाँहरुको मन दुखेन होला?
हैन, पहिला पनि सिन्धु मल्ल बहिनीले भनेर गाएको थिएँ एउटा। एउटा प्रिया भण्डारी बहिनीको अनुरोधमा गाएँ। त्यस्तै ४–५ वटा त गाइसकेँ।

तर, तपाईं त पुरुषले तीज गीत गाउन हुँदैन भन्ने पक्षको मान्छे। अब गाए पनि हुने भयो है?
गाउन हुँदैन भन्दा पनि नगाउँदा ठिकै हुन्छ भन्ने पक्षमा थिएँ तर गाइयो(हाँस्दै)।
तीजका बेलामा त एउटै गायक/गायिकाले दर्जनौं गीत गाएको देखिन्छ/सुनिन्छ। यसपाली तपाईंको संख्या कति पुग्ने भयो त?
गाइदिनु भन्ने त धेरै हुनुहुन्छ। तर, मैले अहिलेसम्म एउटा मात्रै गाएको छु। अर्को एउटा गाउँछु होला। भाइ कमल सरगमको गीत छ, त्यो चाँही गाउँछु होला।
भनेपछि तपाईंको बुझाइमा अब तीज पर्व पुरुषहरुको पनि भइसक्यो त?
अब लगभग-लगभग त्यस्तै देखियो। पहिले तीज पर्व चेलिबेटीको विरह पोख्ने पर्वका रुपमा पनि लिइन्थ्यो तर अहिले समय फेरियो। अहिले त चेलिबेटीको सुख साट्ने पर्वका रुपमा देखिँदैछ।
त्यसोभए अब तीज गीतमा पुरुषका पीडा पनि आउने भए?
(हाँस्दै) अलिअलि ल्याइएको पनि छ। अहिले गाएको ‘तीजको दर’गीतमा पनि अलिअलि त्यस्तै भाव झल्किन्छ।
लोकगीतसंगीत क्षेत्रका कलाकारका लागि तीज पर्व व्यस्तताको मौसम हो। यो मौसममा तीज गीत गाउने कलाकारलाई रेकर्डिङदेखि स्टेजसम्म भ्याइनभ्याई हुन्छ। कतै यही लोभका कारण तपाईं तीज गीत गाउन बाध्य हुनु भएको त होइन?
एउटा बाध्यता त्यो पनि हो। तीजका बेला स्टेज कार्यक्रममा जाँदा तीज गीत नै खोज्छन्, त्यतिबेला गाइदिनैपर्यो। फेरि अहिले पुरुष कलाकारलाई पनि तीज कार्यक्रममा महिला कलाकारसरह स्टेज दिइरहेको अवस्था पनि छ। त्यसैले मैले गाउनुको यो पनि एउटा कारण हो। तर, मैले पनि नगाउँदा राम्रो हुन्थ्यो, अहिलेलाई यति भन्छु।

बजारको मागले बाध्य बनाएको हो?
त्यसै भन्नुपर्ला (हाँस्दै)।
अब प्रसंग बदलौं। अहिले लोकगीतमा चोरीका आरोप र विवाद एकदमै बढ्न थाले। यसलाई तपाईंले कसरी हेरिरहनुभएको छ?
निश्चित मापदण्ड नभएका कारण यस्तो भइरहेको छ। कति मिल्दा चोरेको मान्ने, कतिसम्मलाई नमान्ने, त्यसको कुनै निश्चित मापदण्ड छैन। अर्को के समस्या छ भने हामीकहाँ पूर्व मान्छेले कुनै पश्चिमको लोकगीत सुन्यो भने जुन गीत उस्तै-उस्तै पनि लाग्छ।
जस्तो, तपाईं पहिलोपल्ट जापान जानुभयो भने सबै जापनिजको अनुहार उस्तै-उस्तै देख्नुहुन्छ। तर, त्यहीं बसेर भिज्नुभयो भने मात्र अनुहारबीचको भिन्नता छुट्टाउन सक्नुहुन्छ। लोकगीत पनि त्यस्तै हो। परबाट नियाल्दा उस्ताउस्तै सुनिन्छ तर गहिरिएर अन्तरात्मादेखि सुन्दा धेरै भिन्नता महसुस गर्न सकिन्छ। तर, कहिलेकाहीँ मिल्न जान्छ। कसैले नियतवश मिलाउँछु भनेर मिलाउनु गल्ती हो। तर, कहिलेकाहीँ अन्जानवश मिल्न जान्छ, त्यसलाई पनि ठूलो अपराधको रुपमा बाहिर ल्याउनु चाहीँ ठिक होइन कि?
यद्यपि अन्जानमा मिले पनि मिलेपछि गल्ति स्वीकार चाहीँ गर्नुपर्छ, अस्वीकार गर्नु पनि कमजोरी हो।
प्रकाश सपुतको गीत ‘गलवन्दी’कै कुरा गरौं न। गायक तथा संगीतकार शम्भु राईले जसरी चोरीको आरोप लगाउनुभयो अनि प्रकाशले 'आत्मसमर्पण' गरेर क्रेडिट दिन तयार भए, त्यो दिनलाई धेरैले लोकगीतको 'कालो दिन'का रुपमा टिप्पणी गरेको देखियो। तपाईंलाई के लाग्यो?
त्यसलाई प्रकाशले 'आत्मसमर्पण' गरे भनेर हेर्नु हुँदैन। प्रकाश सपुतले आफूभन्दा अग्रज कलाकारलाई सम्मान गरे भनेर हेर्दा पनि त भयो। सबैभन्दा ठूलो कुरा त सोच हो नी। आखिर उसले सम्मानस्वरुप ‘दाइ मिलेछ’ भनेर क्रेडिट दियो, यसमा कसको के गयो?
यद्यपि गल्ति कहाँनेर भयो भने यो अलि चाँडै मिल्नुपर्थ्यो, तर ढिलो भयो। केही प्रयास त मैले गरेकै हो तर छिटो सम्भव भएन। अन्नतः मिल्नुको विकल्प चाहीँ थिएन। किनभने प्रतिलिपि अधिकारसम्बन्धी नेपालमा पनि प्रष्ट नितिनियम देखिएन। प्रष्ट नितिनियम नभएसम्म यस्तो समस्या आइरहनेछ।
(गायक पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।