काठमाडौं- राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले सिट बाँडफाँट गरेका छन्। वाम गठबन्धनले गठन गरेको कार्यदलले ५६ सिटका लागि हुने निर्वाचनमा ४३ जनाको मात्र उम्मेदवारी दिने निर्णय गरेको छ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति गरेको हो।
उम्मेदवारी दिने ४३ सिटमा एमालेका २९ र माओवादीका १४ उम्मेदवार रहनेछन्। कार्यदल सदस्य तथा एमाले नेता सुवास नेम्वाङले जित्ने पदका लागि उम्मेदवारी दिने निर्णय गरिएको जानकारी दिए।
कार्यदलले बाँडफाँट गरेको सिट अनुसार प्रदेश नम्बर १ मा एमालेले पाँच र माओवादीले एक महिला उम्मेदवार उठाउनेछ। एक खुला र एक महिला पदमा वाम गठबन्धनले उम्मेदवार उठाउने छैनन्।
प्रदेश २ मा माओवादी र एमालेले समान एक/एक उम्मेदवार उठाउने भएका छन्। माओवादीले महिला र एमालेले खुलातर्फ उम्मेदवार उठाउने सहमति भएको छ।
प्रदेश ३ मा एमालेले पाँच जना र माओवादीले एक उम्मेवार उठाउनेछ। माओवादीले महिला उम्मेदवार उठाउनेछ।
त्यस्तै, प्रदेश ४ मा वाम गठबन्धनले चार जनालाई राष्ट्रियसभामा उम्मेदवार बनाउनेछ। जसमा माओवादी केन्द्रले एक जना महिला उम्मेदवार बनाउनेछ भने एमालेले तीन जना उम्मेदवारलाई प्रतिस्पर्धा गराउनेछ।
प्रदेश ५ मा एमालेले चार जना उम्मेदवार बनाउनेछ। जसमा दुई जना पुरुष खुला, एक महिला र एक दलित उम्मेदवार बनाउनेछ। त्यस्तै, माओवादी केन्द्रले पाएको दुई सिटमा एक अपांग र एक महिलातर्फको उम्मेदवार बनाउनेछ।
प्रदेश ६ तर्फ एमाले र माओवादीले सबै ८ वटा सिटमा उम्मेदवार उठाउनेछन्। जसमा एमालेले पाँच र माओवादी केन्द्रले तीन जना उम्मेदवार उठाउने सहमति गरेका छन्।
प्रदेश ७ मा एमालेले एक महिलासहित पाँच जनालाई राष्ट्रियसभामा उठाउनेछ। माओवादीले प्राप्त गरेको दुई सिटमा एक खुला र एक महिला उम्मेदवार पाउने सहमति बनेको छ।
बैठकमा कार्यदलका सदस्यहरु एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थाप, वर्षमान पुन र मातृका यादव सहभागी थिए। प्रदेश मुख्यमन्त्री र सभामुख पदको विषयमा आगामी बैठकमा छलफल गर्ने सहमति समेत कार्यदलमा बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।