चितवन- भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेला परेको जानकारी दिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो, प्रादेशिक ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गर्दा हत्यारा पत्ता लगाउन सफल भएको प्रहरी उपरीक्षक दीपक थापाले बताए।
अभियुक्तले १८ वटाभन्दा बढी फेसबुक आइडी खोलेर नायकको फोटो राख्दै महिलालाई प्रभावित पार्ने गरेको अनुसन्धानबाट खुलेको छ। निजलाई म्याद थप गरी कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरिएको छ।
त्यसैगरी जबरजस्ती करणी गरेको अभियोगमा चार वर्षअघि बालिका बलात्कार गरी फरार रहेका माडी नगरपालिका–८ का चोकनारायण श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनले २०७० माघ ११ गते स्थानीय चार वर्षीया बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
पत्रकार सम्मेलनमा बालकलाई अप्राकृतिक मैथुन गराउने एक युवकलाई पनि पक्राउ गरेको जानकारी दिइएको छ। भरतपुर महानगरपालिका–१ का २२ वर्षीय विवेक खतिवडालाई ७ र ४ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ गरिएको हो।
पक्राउ परेका खतिवडालाई मुलुकी ऐन जबरजस्ती करणीको महलअन्तर्गत अनुसन्धान कारबाही भइरहेको जानकारी दिइयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।