‘जीव मर्दैन, उसको आत्माले भौतिक शरीर छाड्ने हो,’ पूर्वीय दर्शनको मान्यता हो। यसैमा आधारित भएर लेखिएका अनेक ग्रन्थ पढ्न पाइन्छ। किंवदन्ती पनि सुनिन्छ। शंकर लामिछानेले धेरै वर्षअघि यही विषयमा दिमाग खियाएर लेखे– आत्माको मीमांसा। एउटा मनोचिकित्सकको आत्मासम्म पुग्ने ‘दुष्प्रयास’ उक्त कथामा छ। त्यो वर्षाैंपछि नाटक ‘मीमांसा’ मार्फत दृष्यमा चित्रण गरिएको छ।
वर्तमान पुस्तालाई नाटकको असली स्वाद चखाइरहेको पुरानो बानेश्वरस्थित ‘गुरुकुल’ले भौतिक शरीर २०१२ मै छाड्यो। यसका ‘आत्मा’ सुनिल पोखरेल भड्किरहे! आत्माका चेला आत्माहरु पनि त्यसैगरी भड्किरहे।
भौतिक रुपमा बन्द ‘गुरुकुल’को आत्मा मण्डला थिएटरको शरीरमा पसेको छ। जसरी नाटकमा डा हरिहर सिग्देल आफ्ना चेला डा अतुल चापागाईंको शरीरमा उनकी मृत श्रीमतीको आत्मा बोलाउने प्रयास गरिरहन्छन्।
दर्शकलाई नाटकको स्वादमा पल्काएर अप्रत्यासित रुपमा गुरुकुल बन्द गर्नु परेपछि पीडामा रहेका पोखरेल झन्डै सात वर्षपछि ‘फर्म’मा देखिन्छन्। डा हरिहर सिग्देलका रुपमा उनलाई देख्दा दर्शकलाई महसुस हुन्छ– नाटकका पर्यायवाची पोखरेलले अभिनय बिर्सेका रहेनछन्! किनभने पछिल्ला वर्षहरुमा उनी हम्मेसी नाटकमा नझुल्किँदा प्रशंसकलाई उनको पुरानो अभिनयकौशल फेरि देख्न नपाइने हो कि भन्ने पीर थियो।
रंगकर्मी पोखरेलमा डा हरिहरको आत्मा पसाइदिने काम चाहिँ प्रवीण खतिवडाले गरेका हुन्। मञ्च वा फिल्ममा आफूलाई अब्बल अभिनेताका रुपमा प्रस्तुत गरिसकेका खतिवडाले आफूलाई निर्देशकका रुपमा पर्गेलेका छन्। उनको काम प्रशंसनीय नै छ । तर पहिल्यै माफी माग्दा ‘सात खुन माफ’ पाउने मनोविज्ञानबाट प्रभावित भएर उनले अभिव्यक्ति दिएका छन्, ‘निर्देशक बन्ने साहस मलाई कहिल्यै आउँदैन। आउन सक्दैन पनि। कारण, मेरो नजरमा निर्देशक देवता हो। सुनिल पोखरेल हो। र, म त सिर्फ सोखको साधन, एउटा इच्छा पूर्तिमात्र गरिरहेको थिएँ। खुसी लाग्छ, जब तपाईंले मेरो ठट्टालाई पत्याइदिनुहुन्छ।’
लामिछानेको कथालाई नाटकमा परिणत उनैले गरेका हुन्। उनको जीवनमा सुखद् संयोग जुरेको छ, आफ्ना प्रिय लेखकको कथामा आदर्श व्यक्तित्व पोखरेललाई अभिनय गराउने। त्यसैले कुनै कसुर बाँकी राखेका छैनन्, केही प्राविधिक गल्तीहरु बाहेक। लामिछानेबाट कतिसम्म प्रभावित छन् भन्ने उनको यो अभिव्यक्तिबाट थाहा लाग्छ ‘लामिछानेको लेखाइ, प्रभाव मभित्र कहिलेसम्म रहन्छ थाहा छैन। जे भए पनि उनी आत्मीय लाग्छ सधैं। उनकै शब्दहरु सापट लिन्छु।’
थिएटरमा राजकुमार पुडासैनी सधैं आफूलाई चुनौती दिइरहन्छन्। यसपल्ट उनले चुनौती दिएका छन्। सुनिल पोखरेलसँग उनलाई ‘गुरु गुण, चेला चिनी’का रुपमा महसुस गर्नुभयो भने पनि अन्याय हुँदैन। नाटकप्रेमीका लागि विजय बराल बानी भइसकेका छन्। स्वभाविक ठट्टा गर्ने भूमिकामा उनी कहिल्यै अस्वभाविक देखिएका छैनन्। कलाकारको सूचीमा निशा शर्माको नाम सबैभन्दा माथि नराखेको भए पनि हुन्थ्यो। भूमिकाको आयतन अनुसार नामको क्रम मिलाइदिए दर्शकमाथि न्याय हुनसक्थ्यो। मञ्चमा घनश्याम जोशी, सुरज तमु, अर्जुन शिवाकोटी, मौसम खड्का, आलोक थामी, समित तामाङ र राज न्यौपाने पनि छन्।
मञ्च निर्माणमा हुम बिसी र जोनेन क्षेत्रीको परिश्रम देखिन्छ। मञ्चका केही कुरा अलिकति चित्त बुझेका छैनन्। भन्नुपर्ने त निर्देशक खतिवडा र मुख्य कलाकार पोखरेललाई होला, ‘चिकित्साका ग्रन्थहरुको र्याकमा ब्रान्डी, लेबल र चुरोट पटक्कै सुहाएनन्। हुन त एक खोजमा तल्लिन डाक्टरको मनोदशा उतार्न वा उसको मनोदशा बिथोल्न ती पदार्थ जरुरी ठानिए होलान्। अनि सुनिल सर, ती पदार्थ पिउनु तपाईंको स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा हामीलाई भन्दा बढी तपाईंलाई नै थाहा छ। तर नाटकको स्वास्थ्यका लागि पनि स्वास्थ्यवर्द्धक लागेनन्।
‘छोटी मुह, बढी बात’ भनेजस्तो लाग्ला । तर नाटकलाई ‘जीवन्त’ बनाउने नाममा तपाईं आफ्नै र दर्शकको ‘जीवन अन्त्य’ गर्नसक्ने ती पदार्थ नपिए हुँदैन र!
नाटकप्रेमीका लागि जानकारी दिउँ, शुक्रबारदेखि सुरु हुने नाटक साउन ३२ गतेसम्म चल्ने छ। सोमबार बाहेक हरेक दिन बेलुकी ५ः३० बजे र शनिबार दिउसो १ः०० बजे पनि धेरैलाई अवगत नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।