वासिंटन- अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयोग रकमको आधा हिस्सा कटौती गरेको छ।
संयुक्त राष्ट्रसंघको एउटा निकायमार्फत अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले रोकेको हो। अमेरिकाको यस्तो कदमले संकटमा रहेका भनिएका लाखौं मानिसलाई असर गर्ने संयुक्त राष्ट्रसंघका एक अधिकारीले जनाएका छन्।
अमेरिकाले प्यालेस्टाइनलाई सहयोग गर्दै आएको करिब १२ करोड ५० लाख अमेरिकी डलरमध्ये पहिलो किस्तास्वरुप दिनुपर्ने ६ करोड ५० लाख डलर रोक्ने निर्णय गरिएको जनाएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै उनीहरुलाई दिइँदै आएको सहायता रकम रोक्न सकिने खुलासा गरेका थिए।
ट्रम्पले प्यालेस्टाइनीहरूले इजरायलसँगको शान्ति प्रयासलाई स्वीकार नगरेमा उसलाई दिइँदै आएको अमेरिकी सहायता कटौती गर्न सकिने जानकारी दिएका थिए। उनको सोही प्रस्तावअनुसार अहिले रकम कटौतीको निर्णय आएको हो।
आइतबार गरिएको यस निर्णयपछि प्यालेस्टाइनी राष्ट्रपति महम्मुद अब्बासले राष्ट्रपति ट्रम्पको चर्को आलोचना गरेका थिए।
गत डिसेम्बर ६ मा अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा प्रस्ताव गरेपछि प्यालेस्टाइनीहरु सो निर्णयको खुलेर विरोध गरिरहेका छन्।
राष्ट्रपति अब्बासले वर्ष २०१७ को अन्तिम महिनामा अमेरिकाले गरेको सो निर्णयपछि उसका कुनै पनि शान्ति योजनालाई आफूहरुले स्वीकार नगर्ने घोषणा गरेका थिए।
संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी संस्थाहरु तथा अन्य निकायहरुले प्यालेस्टाइनी शरणार्थी तथा नागरिकहरूलाई पनि सहायता दिँदै आएका छन्। उनीहरुले स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेका छन्।
सहायता रकम अमेरिकाले रोकेपछि ती कार्यक्रममा असर पर्ने बताइएको छ। यस विषयमा राष्ट्र संघको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।