काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन) र भरतराज उप्रेती फाउन्डेसनले पत्रकारहरूका लागि आर्थिक कानुनका विषयमा तालिम प्रदान गर्ने भएको छ। आर्थिक क्षेत्रमा कार्यरत पत्रकारहरुको संस्था सेजन र स्वर्गीय न्यायधीश एवं वरिष्ठ कानुन व्यवसायी भरतराज उप्रेतीको स्मृतिमा स्थापित फाउन्डेसनबीच यससम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार पत्रकारका लागि नेपालको कानुन तथा न्याय प्रणाली र व्यावसायिक कानुन, ऊर्जा र पूर्वाधार निर्माण तथा सञ्चालन सम्बन्धी कानुन, सार्वजनिक खरिद सम्बन्धी कानुन तथा वौद्धिक सम्पत्तिको संरक्षण, उपभोक्ता संरक्षण र प्रतिस्पर्धा सम्बन्धी कानुनबारे प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ।
दुवै संस्थाबीच भएको सम्झौतामा सेजनका अध्यक्ष पुष्पराज आचार्य र फाउन्डेसनका अध्यक्ष अञ्जु उप्रेती ढकालले हस्ताक्षर गरे। मंगलबार भएको नेपालको कानुन तथा न्याय प्रणाली र व्यावसायिक कानुनबारे प्रशिक्षणमा ४० आर्थिक पत्रकार सहभागी रहेको विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।