चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्। दाहालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा नौ लाख ९४ हजार ५ सय ४२ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।
अध्यक्ष दाहालले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए। दाहालले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका थिए।
दाहालका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष एवं वनमन्त्री विक्रम पाण्डेको चुनावी खर्च भने नौ लाख ३९ हजार ९ सय ४० पेश भएको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लामा तीन निर्वाचन क्षेत्रका ९५ जनाको उम्मेदवारी परेकामा अहिलेसम्म ६७ जनाले निर्वाचन खर्च विवरण पेश गरेको ढकालले जानकारी दिए। खर्च विवरण पेश नगर्नेमा अन्य साना दलका उम्मेदवार छन्।
प्रतिनिधिसभा निर्वाचनमा एक जना उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउने नियम छ।
चितवन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले १३ लाख ५७ हजार ६ सय ७३ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीको चुनाव खर्च १६ लाख २९ हजार १ सय ७० रुपैयाँ छ।
चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलको चुनावी खर्च १४ लाख ३९ हजार ८ सय छ भने निकटतम प्रतिद्वन्द्वी शिक्षा राज्यमन्त्री एवं कांग्रेसका नेता शेषनाथ अधिकारीले १३ लाख ९३ हजार रुपैयाँको विवरण बुझाएको कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।