पोखरा- पूर्व सभामुख एवम् माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आफू तत्कालीन अवस्थामा सभामुख जस्तो पदीय जिम्मेवारीमा रहेका कारण प्रत्यक्षतर्फबाट चुनाव नलडेको बताएकी छन्।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँगै पोखरा पुगेकी घर्तीले प्रत्यक्षमै चुनाव लड्न धेरै शुभचिन्तक तथा जनताले आग्रह गरे पनि पहिलेको पदको मर्यादा रहोस् भनेर आफूले अघि नसरेको तर्क गरिन्। पार्टीले भने उनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्द सूचीमा राखेको थियो।
जनादेशलाई उपेक्षा गरियो : महरा
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सरकारले संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजेको बताए।
प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महराले दुवै पार्टीको बीचमा कुनै पनि समस्या पैदा नहोस् भनेर राष्ट्रियसभाको निर्वाचनपछि सरकार बनाउने तयारीमा रहेको प्रस्ट पारे।
सरकारले आजभोलि मै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने हल्ला चले पनि उसको नियत राम्रो नदेखिएको महराले आरोप लगाए।
उनले पार्टी एकताका लागि दुवै पार्टीका अध्यक्षबीच कुराकानी भएको र पार्टी संयोजन समितिको पनि बैठक बसी छलफल गरिएको जानकारी दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।