तुलसीपुर- दाङलाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी बनाउन माग राख्दै आजबाट अनिश्चितकालीन बन्द आह्वान गरिएको छ। दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्।
बन्दका कारण बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन्। शिक्षण संस्था, कलकारखाना समेत बन्द छन्।
त्यसैगरी जिल्लाका मुख्य बजारहरु तुलसीपुर, नारायणपुर, घोराही, लमही, गढवा र भालुबाङ लगायत सबै क्षेत्र सुनसान रहेको बताइएको छ। बन्दको समर्थन गर्दै स्थानीय जनता स्वतःस्फूर्तरुपमा सडकमा उत्रिएका छन्।
दाङलाई प्रदेशको राजधानी बनाउन सबै हिसाबले उपयुक्त भए पनि सरकार तथा राजनीतिक दलका नेताहरुले षड्यन्त्र गरेकाले अनिश्चितकालीन बन्द गर्नुपरेको समितिका सदस्य–सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताए।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ सडकखण्ड बन्द हुँदा पूर्व र पश्चिम चल्ने सवारी भालुवाङ र अमेलियामा रोकिएका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।