बेइजिङ- चीनमा मानवअधिकारवादी वकिल मिस्टर यु वेन्सेङ्गको लाइसेन्स खारेज गरिएको छ।
रुलिङ कम्युनिस्ट पार्टीको आलोचना गर्दै खुलापत्र लेखेको आरोपमा ५० वर्षीय वकिल युको लाइसेन्स खारेज गरिएको हो।
चीनको प्रमुख न्यायालयले गत जनवरी १५ मा युलाई पत्र पठाउँदै ३ महिनाको लागि लाइसेन्स खारेजी भएको जानकारी दिएको युले ट्विटमार्फत जनाएका छन्। उनले ट्विटमा न्यायालयले दिएको पत्रसमेत उल्लेख गरेका छन्।
युले पछिल्लो समय सरकारको लगातार आलोचना गर्दै आएका थिए। उनी सरकारी पक्षबाट हिरासतमा लिइएका र सोधपुछ गरिएका करिब एक सय मानव अधिकारको वकालत गर्ने वकिलमध्येमा पर्दछन्।
न्यायालयले पठाएको पत्रमा युले पछिल्लो ६ महिनायता कानुनभन्दा बाहिर रहेर लाइसेन्सको प्रयोग गरेको उल्लेख छ।
उता आफ्ना श्रीमान्को बचाउ गर्दै युकी श्रीमती सु यानले गएको वर्ष आफ्नो पुरानो ल फार्म बन्द गरेपछि युले स्वतन्त्र न्यायको पक्षमा वकालत गरिरहेको दाबी गरिन्।
तर स्वतन्त्र न्यायको पक्षमा वकालत गर्नका लागि बेइजिङ नगर प्रशासनमा दिएको निवेदन पनि गत जनवरी १२ मा अस्वीकार गरिदिएको उनले जानकारी दिइन्। नगर प्रशासनले पत्र लेख्दै भनेको छ, ‘अनुसन्धानबाट निवेदनमा उल्लेख गरिएको संस्था कम्युनिस्ट पार्टीको खुल्ला प्रतिपक्षको रुपमा उभिएको खुल्नमा आएको छ।’
पत्रले चल्तीमा रहेका वकिलले दिइरहेको कानुनी सेवाको हकमा उनको योगदान फितलो भएको पुष्टि गरेको छ।
युको इतिहास
स्वतन्त्र न्याय सम्पादनको वकालत गरेकै कारण यसअघि पनि उनलाई पटक–पटक प्रहरीले नियन्त्रणमा लिँदै छाड्दै गरेको थियो। केही वर्ष अघिसम्म आर्थिक मामिलामा वकालत गर्ने यु सन् २०१४ तथा २०१५ मा पक्राउ परेका थिए।
आफ्ना ग्राहकलाई ३ महिलासम्म भेट्न नदिएकोमा सार्वजनिक विरोध गरेपछि उनी पहिलो पटक पक्राउमा परेका थिए। हिरासतमा रहँदा प्रहरीले यातना दिएको आरोप लगाएपछि सन् २०१५ मा उनलाई पुनः पक्राउ गरिएको थियो।
३ सय कानुन व्यवसायीमाथि प्रश्न
सन् २०१७ मा चीनमा २ जना मानवअधिकारवादी कानुन व्यवसायीहरुलाई जेल सजाय नै सुनाइएको थियो। यसका अलावा करिब ३ सय कानुन व्यवसायी तथा मानवअधिकारवादी अभियन्तामाथि सरकारले प्रश्न उठाएको छ। जसमध्येका २ दर्जनभन्दा बढी सन् २०१५ देखि नै अनुसन्धानको दायरामा रहेका व्यवसायीहरु हुन्।
अहिलेसम्म केही व्यवसायीको मुद्दामा फैसला गर्दै लामो जेल सजाय तोकिएको छ भने केही मुद्दाहरु भने विचाराधीन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।