काठमाडौं- अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुखका लागि प्रस्ताव गरिएका नाममाथि छलफल चलिरहेको छ।
राजनीतिक दलबाट आएका विभिन्न नाममाथि छलफल भइरहेको स्रोतले बतायो। जसमा नेपाली कांग्रेसबाट अनुराधा कोइराला र दोलखबहादुर गुरुङ, संघीय समाजवादी फोरमबाट रत्नेश्वर कायस्थ, राजपाबाट प्रस्ताव गरिएका उमाकान्त झा लगायतको नाममाथि छलफल भइरहेको छ।
गोविन्द सुब्बा, बाबुराम कुँवर, कृष्णकेशरी खनाल, मोहनराज मल्लको नाममा पनि छलफल भइरहेको स्रोतले जनायो।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखका लागि रुक्मांगत कटवाल, रामनगिना सिंह, केदारभक्त माथेमा र भोजराज पोखरेलसँग समेत भेटेर इच्छा बुझेका थिए।
यस्तै, प्रदेशको अस्थायी राजधानीमा विराटनगर, जनकपुर, ललितपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीलाई तोक्ने तयारी भइरहेको छ।
सरकारले दलहरुबीचको सहमतिमै प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोक्ने तयारी गरेको थियो। तर, वाम गठबन्धनले अस्थायी राजधानी तोकेर विवादमा पर्नुभन्दा पन्छिने रणनीति अख्तियार गरेपछि सरकारलाई सहमति जुटाउनमै समय लागेको हो। प्रदेश प्रमुख नियुक्तिको जिम्मेवारी सरकारकै भएको भन्दै वाम गठबन्धनले भने कसैको नाम सिफारिस गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।