चौतारा- राष्ट्रियस्तरमा भूकम्पसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने केन्द्र स्थापनाका लागि सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यान निर्माण सुरु भएको छ।
२०७२ वैशाख १२ गतेको भूकम्पमा ४० प्रतिशत मानवीय र ९५ प्रतिशत भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा मुलुकका अति प्रभावित १४ जिल्लाकै प्रतिनिधित्व हुने गरी १४ खम्बा राखी उद्यान निर्माण गर्न लागिएको हो।
'ए नट’ आर्किटेक डिजाइन एशोसियसनले रु ३५ लाखमा तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन सहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकले चौतारामा सार्वजनिक गरेको थियो। सदरमुकाम चौताराबाट करिब ३ किलोमिटर उत्तर-पश्चिमको दाह्रे गौँडा डाँडामा निर्माण गरिने उक्त उद्यान वरिपरि बार लगाउने काम भइरहेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ३ करोड २५ लाखमा सडक, बत्तीलगायत काम अगाडि बढाइएको छ।
चौतारा साँगाचोकगढी नगरपालिका– ५ र ६ मा पर्ने भगवती सामुदायिक वन क्षेत्रको ८२ रोपनी १२ आना जग्गामा उद्यान निर्माण गरिनेछ। उद्यानमा भूकम्पबाट क्षति भएको कल्पनामा एउटा विशाल प्रतिमा हुनेछ र त्यसमाथि कमलको फूल हुनेछ। उद्यानमा निर्माण हुने एउटा कक्षमा प्रवेश गर्दा भूकम्पको अनुभव हुने कोठासमेत रहनेछ।
भूकम्पसम्बन्धी अनुसन्धान गर्न सकिने बैठक कक्ष, पुस्तकालय, सूचना केन्द्र, विगतदेखि हालसम्म गएको भूकम्पको जानकारी लिन सकिने संग्रहालय र दुईतले दृश्यावलोकन स्तम्भ निर्माण गरिनेछ। उद्यानभित्र मृतकको नामांकित शिलास्तम्भ र पार्किङ लगायत व्यवस्था गरिने सहरी विकास तथा भवन डिभिजन कार्यालय जिल्ला समन्वय समितिका प्रमुख डा युवराज पौडेलले जानकारी दिए। सो उद्यान निर्माणमा झण्डै रु एक अर्ब बजेट लाग्नेछ।
उद्यान निर्माण गरिने क्षेत्र स्थानीय भगवती सामुदायिक वन क्षेत्रभित्र पर्ने हुँदा जिल्ला वन कार्यालयसँग समन्वय गरी सोहीबमोजिम निर्माण गरिनुपर्ने जिल्ला वन अधिकृत शिवप्रसाद सापकोटाले सुझाव दिए। ‘गोरखा भूकम्प’ तथा त्यसपछिको परकम्पबाट जिल्लामा ३ हजार ५७२ जनाको मृत्यु भएको थियो। घटनामा ८ जना बेपत्ता र एक हजार ५६९ जना घाइते भएका थिए। देशभरमा भूकम्पबाट कम्तीमा नौ हजारको मृत्यु भएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।