काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको तयारीबारे दलहरुलाई जानकारी गराएको छ। कार्यालयमै डाकेर राष्ट्रिय ५ दलका शीर्ष नेताहरुलाई आयोगले आफ्नो तयारीबारे जानकारी गराएको हो।
छलफलमा एमाले नेता सुवास नेम्वाङले आयोगको तयारी सन्तोषजनक रहेको बताएका छन्। आयोगले निर्वाचनका लागि दल दर्तादेखि प्रत्येक प्रदेशमा गराउने निर्वाचनको विषयमा दलहरुसँग छलफल गरेको थियो।
राष्ट्रियसभा निर्वाचनको मतपत्र र एकल संक्रमणीय पद्धतिका विषयमा आयोगका पदाधिकारी र नेताहरुबीच छलफल चलेको थियो।
बैठकमा एमालेका तर्फबाट सुवास नेम्वाङ, अग्नि खरेल, माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, रामनारायण बिडारी, नेपाली कांग्रेसका तर्फवाट रमेश लेखक,बालकृष्ण खाँड, राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमका तर्फबाट राजेन्द्र श्रेष्ठको सहभागिता थियो।
आयोगको प्रारम्भिक तयारी सन्तोषजनक रहेको र थप तयारीमा विषयमा अगाडि बढ्न सबै दलहरुले सुझाव दिएको एमाले नेता नेम्वाङ बताए।
राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुँदैछ। प्रत्येक प्रदेशमा मतदान गराउने आयोगको तयारी छ। राष्ट्रियसभामा गाउँ/नगरपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्यहरु मतदाता हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।