कञ्चनपुर- स्थानीय वनहरा नदीमा आएको बाढीले जग्गा कटान गर्दा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवार बिचल्लीमा परेका छन्।
खेती लगाउँदै आएको झन्डै दुई बिगाहा दश कट्ठा जग्गा भदौ दोस्रो साता आएको बाढीले बगाएपछि खेतीमै आश्रित परिवार समस्यामा परेका हुन्। धान र सखरखण्डी लगाएको खेत नदीमा आएको बगर बनाइदिएको स्थानीय मंगल चौधरीले बताए।
'जग्गा बगेपछि पीडित परिवारले मजदुरी गरी दैनिक गुजारा चलाउनुपर्ने अवस्था आएको छ' उनले भन्नुभयो।
जग्गा नदीले बगाएपछि ती परिवारसँग अब घर मात्रै बाँकी छ। नेपाल रेडक्रस सोसाइटीले दातृ निकायको सहयोगमा ६० मिटर लामो अस्थायी तटबन्ध निर्माणको कार्य गरी जग्गा कटानको कार्य रोकथाम गरिरहेको छ । तटबन्ध निर्माणको कार्यमा स्थानीयले श्रमदान गरिरहेका छन् ।
तत्काल स्थायी समाधानको उपाय नगरिए जग्गा कटानको चपेटामा परेका १६ परिवारसहित अन्य परिवार गरी ३५ परिवार विस्थापनमा पर्ने भएका छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।