काठमाडौँ- सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम) का लागि नेपालले ‘राष्ट्रिय दृष्टिकोणको खाका’ तयार पारेको छ।
श्रम तथा रोजगार मन्त्रालयले ‘जिसिएम’को खाका प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा श्रमिक निर्यातकर्ता मुलुकको हितलाई ध्यानमा राखी तयार गरिएको जानकारी दिएको हो।
संयुक्त राष्ट्र संघको सन् २०१६ को साधारणसभाले आप्रवासका सम्बन्धमा अन्तर्राष्ट्रिय साझेदारीको खाका तयार गर्ने प्रतिबद्धता पारित गरेको थियो। राष्ट्रसंघको सन् २०१८ मा हुने ७३ औँ साधारणसभामा अन्तर्राष्ट्रिय साझेदारीको सो खाकालाई पारित गर्ने लक्ष्य राखिएको छ।
श्रम मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले ‘जिसिएम’मा श्रमिक निर्यातकर्ता दक्षिण एसियाली राष्ट्रको भावनालाई समेत समेट्ने गरी नेपालले आफ्नो खाका तयार पारेको बताए।
आगामी दिनमा नेपालले योसम्बन्धी नीति, नियम बनाउँदा यही खाकालाई आधार मानेर बनाउनुपर्ने भएकाले यो विषयलाई साधारणरुपमा लिन नहुने उनको भनाइ छ।
परराष्ट्र मन्त्रालयका उपसचिव दिलीपकुमार पौडेलले श्रमिक आपूर्तिकर्ता मुलुक र श्रमिक निर्यातकर्ता मुलुकबीच यो विषयमा फरकफरक सोचाइ रहेकाले त्यसलाई कम गर्नेगरी अन्तर्राष्ट्रिय साझेदारीको खाका बन्न आवश्यक रहेको धारणा राखे।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएमओ) नेपालका परामर्शदाता भवीन्द्र भण्डारीले श्रमिकको हकअधिकारलाई हितमा राखेर नेपालले यो खाका तयार पारेको भन्दै यसमा सबै पक्षको राय सुझाव समेटिएको बताए।
कामदारको कार्यक्षेत्र र बासस्थानको सुधार, हकअधिकारको सुनिश्चितता, बीमा, मानव बेचबिखनको अन्त्य, स्वस्थ भर्ना प्रक्रिया लगायतका विषयलाई नेपालले मुख्य रुपमा खाकामा जोड दिएको छ।
आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय फोरम ‘कोलम्बो प्रोसेस’को नेपालले अध्यक्षता गरिरहेको छ भने अर्को संस्था ‘अवुधावी डाइलग’मा पनि नेपाल सक्रिय सहभागी छ। यी निकायलाई समेत समेट्नेगरी नेपालले यो खाका तयार बनाएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।