महोत्तरी- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषालाई जोड्ने रातु खोलाको पुलमा बेलिब्रिज निर्माण गरिएसँगै यातायात सञ्चालनमा आएको छ ।
साउन २८ गतेको बाढीले रातु पुलको महोत्तरीतर्फको चौथो पिलर भासिएपछि यातायात अवरुद्ध हुँदै आएको थियो । पुल भासिँदा खोलाबाट असहज रुपमा यातायात सञ्चालन हुँदै आएको थियो।
बाढी आएको बेला पटकपटक पूर्व-पश्चिम राजमार्ग अवरुद्ध हुने गरेकोमा सो पुलमा मंगलबार ३५ मिटर लामो बेलिब्रिज निर्माण गरिएको हो ।
सो बेलिब्रिजको इञ्जिनियरबाट परीक्षण नभएकाले अहिले पुलबाट हलुका सवारी साधन मात्रै चलाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । मालवाहक ट्रक र बस अहिले पनि खोला भएरै सञ्चालन भएका छन् । इञ्जिनियरले बेलिब्रिजको भार थेग्ने क्षमता मापन गरेपछि सबै यातायातका साधन पुलबाटै चलाइने जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।