धनगढी- ५ जना घाइते हुने गरी धनगढी नगरपालिका-४ स्थित एक होटलमा बम विस्फोट भएको पुष्टि भएको छ। घटनास्थलमा विस्फोट भएको बम नै भएको पुष्टि भएको कैलालीका डिएसपी दक्ष कुमार बस्नेतले बताए।
'घटनास्थलमा विस्फोट भएको टिफिन कन्टेनर बम भएको प्रहरीले पुष्टि गरेको छ। यसअघि सिलिन्डिर विस्फोट भएको आशंका गरिए पनि अब त्यो शंका छैन,' डिएसपी बस्नेतले भने।
घटनास्थल नजिकैबाट एक पेस्तोल फेला परेको समेत प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा पेस्तोल फेला परेको पेस्तोल ९ एमएम चाननिज पेस्तोल भएको प्रहरीले उल्लेख गरेको हो।
तर विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
बिहिबार साँझ करिब ७ बजेर २० मिनेट जाँदा विस्फोट भएको थियो। विस्फोटमा परी ५ जना घाइते भएका छन्।
स्थानीय सहिद चोक नजिकै भएको विस्फोटमा स्थानीय निलम होटलका संचालक केशवराज पाण्डेसहित अन्य ४ जना गम्भीर घाइते भएका हुन्।
यसैगरी सोही होटलमा ग्राहक बनेर आएका राम सिंह, लक्ष्मण सिरेला, जितेन्द्र यादव र मोबिन खान पनि घाइते भएका हुन्।
उनीहरुको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
घटनास्थल प्रहरीले सिलबन्दी गरी अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।