धनगढी- ५ जना घाइते हुने गरी धनगढी नगरपालिका-४ स्थित एक होटलमा भएको विस्फोटस्थल नजिकै एक पेस्तोल फेला परेको छ। घटनास्थलबाट पेस्तोल फेला परेको कैलालीका डिएसपी दक्ष कुमार बस्नेतले बताएका हुन्।
बिहिबार साँझ करिब ७ बजेर २० मिनेट जाँदा विस्फोट भएको थियो। विस्फोटमा परी ५ जना घाइते भएका छन्।
स्थानीय सहिद चोक नजिकै भएको विस्फोटमा स्थानीय निलम होटलका संचालक केशवराज पाण्डेसहित अन्य ४ जना गम्भीर घाइते भएका हुन्।
यसैगरी सोही होटलमा ग्राहक बनेर आएका राम सिंह, लक्ष्मण सिरेला, जितेन्द्र यादव र मोबिन खान पनि घाइते भएका हुन्।
उनीहरुको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार सुरु भएको छ।
प्रहरीले सिलिन्डर वा बम के विस्फोट भयो भनेर निर्क्योल गरिनसकेको बताइएको छ। तर बम हुने शंका बढी रहेको घटनास्थलमा खटिएका प्रहरीले बताएको घटनास्थलबाट सहकर्मीले फोनमा भने।
घटनास्थल प्रहरीले सिलबन्दी गरी अनुसन्धान गरिरहेको छ।
घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।