काठमाडौं- इस्लिङटन कलेजले रोजगारसहितको एमबिए कोर्स सुरु गर्ने भएको छ। कलेजले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी रोजगारसहितको एमबिए कक्षा सञ्चालन गर्ने बारे जानकारी गराएको हो। कलेजले चीन र थाइल्यान्डमा समेत अतिरिक्त समय अध्ययनको व्यवस्था सहित २ वर्षे एमबिए कोर्ष सुरु गर्न लागेको हो।
बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा चालु शैक्षिक सत्रदेखि एमबिए कोर्स सुरु गर्ने भएको हो। यो कोर्स अध्ययनपछि नेपाल लगायत विश्वका कुनै पनि मुलुकमा व्यवसाय, अध्ययन र अनुसन्धान गर्न सहयोग हुने कलेजले दाबी गरेको छ। अनुसन्धानमा आधारित दुई वर्षे कोर्स अन्तर्गत नेपालबाट विदेश निर्यात हुने र विदेशबाट नेपाल आयात हुने सामग्रीको विषयमा सूक्ष्म अध्ययन गराइनेछ।
व्यापारमा आधारित सूक्ष्म अध्ययन गराउने उद्देश्यसहित नयाँ विषयको सुरुवात गरिएको कलेजका प्रमुख कार्यकारी निर्देशक शुलभ बुढाथोकीले जानकारी दिएका छन्। ‘हामीले नेपालको बैंकिङ, अर्थ र व्यापारिक क्षेत्रको विषयमा अध्ययन गरी नेपालमा व्यवसाय सञ्चालन गर्न सहज हुनेगरी नयाँ कोर्सको सुरुवात गरेका हौं,’ उनले भने।
म्यानेजेरियल लेभलमा २ वर्ष रोजगारी गरिसकेका विद्यार्थीलाई लक्षित गरी कक्षा सञ्चालन गर्न लागिएको उनले बताए। उनका अनुसार एमबिएमा विश्वप्रसिद्ध चीनको अलिवावा डट कम र युनिभर्सिटी अफ द थाइल्यान्ड चेम्बर अफ कमर्ससँग सहकार्य गरिएको छ। पहिलो वर्ष लन्डन मेट्रोपोलिटियन युनिभर्सिटीको कोर्षसँगै चिनियाँ भाषाको एचएसके तेस्रो लेभलको भाषा सिक्नुपर्छ। भाषासँगै अलिवावा डट कमका विज्ञ र त्यससँग सम्बन्धित विज्ञसँग तालिमको व्यवस्था गरिएको छ।
चीनमा अध्ययन सम्पन्न गरेपछि दुई साता थाइल्यान्डमा अध्ययन गर्नुपर्ने अतिरिक्त व्यवस्था यो कोर्समा छ। व्यापारमा फड्को मारिसकेको थाइल्यान्डको चेम्बरसँग विश्वकै व्यापारको विषयमा अध्ययन गर्ने अवसर मिल्ने निर्देशक बुढाथोकीले बताए।
उनका अनुसार एमबिए पूरा गरिसकेपछि नेपालमै रोजगारी सिर्जना गर्ने कि विदेश जाने भन्ने छनौट गर्ने अधिकार विद्यार्थीलाई नै हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।