जितपुर, कपिलवस्तु- यहाँका दुई छुट्टाछुट्टै ठाउँमा घर, गोठ जलेर नष्ट हुँदा रु १० लाखभन्दा बढीको क्षति भएको छ।
विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा गाईवस्तुलाई तातो बनाउनका लागि बालिएको आगो एक्कासि गोठमा सल्किँदा फुसले छाएको कच्ची गोठ, गोठमा रहेका १३ बाख्रा, एक गोरु, आठ कुखुरा जलेर नष्ट भएका छन्। चार वटा गाई–गोरुसमेत जलेर घाइते भएका छन्।
विकको घर, गोठ र चौपाया जलेर नष्ट हुँदा रु पाँच लाख दुई हजारभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए।
यस्तै, शिवराज नगरपालिका–३, मधवाका रामप्रसाद विकको गोठमा बिहीबार दिउँसो आगो ताप्न बालेको आगो फुसले छाएको गोठमा सल्किँदा दुईतले घर र गोठ जलेर नष्ट भएको छ। गोठमा भएका एक गोरु र पाँच वटा बाख्रा पनि जलेर मरेका छन् भने एक गाई जलेर घाइते भएको छ।
आगलागीबाट घरगोठ, अन्नपात, कत्ताकपडा, चौपाया नष्ट हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।