कास्की- आफ्नै श्रीमतीको हत्या गरी जंगलमा फाल्ने घटनाका मुख्य योजनाकार उनकै श्रीमानसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर घर भई हाल पोखरा महानगरपालिका-१० रामबजारमा मोबाइल पसल गरी बस्ने ३५ वर्षीय रमेश नेपालीलगायतका छन्। नेपाली मृतकका आफ्नै श्रीमान् हुन्। उनकी २८ वर्षीय लक्ष्मी नेपालीलाई यही असार ०१ गते भारतबाट सुपारी किलर झिकाई हत्या गर्न लगाएको दाबी प्रहरीले गरेको छ।
घटनाको विषयमा सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको कास्की प्रहरी साथै गण्डकी प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान समूहले बताएको छ। पक्राउ परेका नेपालीका क्रियाकलाप शंका गरी निगरानी गरेको बताइएको छ।
यही असार ०१ गते पोखरा महानगरपालिका-२२ पुम्दिभुम्दी स्थित ठुल्ढुङ्गाको जङ्गलमा खुट्टाको औषधीको लागि जडिबुटि खोज्न भनि आफ्नी श्रीमतीलाई उक्त जङगलमा लगी सुपारी किलरलाई जिम्मा लगाएको भनी नेपालीले प्रहरीसमक्ष बयान दिएका छन्।
श्रीमतीको हत्यापछि भने उनी आफ्नी श्रीमतीलाई खोजीदिन भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिनुका साथै बारम्बार प्रहरी कार्यालयमा धाउने र मिडियाहरुसँग समेत सहयोगका लागि हार गुहार गरेका थिए।
अन्तत: उनलाई नै नियन्त्रणमा लिई अनुसन्धान थालेपछि उनले नै श्रीमतीको हत्या गर्न लगाएको खुल्न आएको हो। घटना भएको २५ दिनपछि दोषी पत्ता लागेपछि तत्कालै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको कमाण्डमा घटना स्थलमा खटिएको प्रहरी टोलीले घटनास्थलमा २५ दिन अघि हत्या गरिएकी लक्ष्मीको अस्थिपञ्जर मात्रै फेला पारेको थियो।
घटनाका विषयमा थप अनुसन्धान गर्दैजाँदा उक्त घटनामा संलग्न अन्य ३ जना समेत कानूनी दायरामा आएका छन्।
हत्याका लागि भारतबाट सुपारी किलर व्यवस्था गरीदिने भोजपुर जिल्लाको भोजपर नगरपालिका-५ बैङकरोड घर भई हाल पोखराको महेन्द्रपुलमा मोबाइल पसल गरी बस्ने ३२ वर्षीय संजय शर्मालाई समेत प्रहरीले पक्राउ गरेको छ।
यसैगरी, सर्लाही ईश्वरपुर नगरपालिका-३ तिनघरिया घर भई हाल पोखराको पृथ्वीचोकमा मोबाईल पसल गरी बस्ने २६ वर्षीय चित रञ्जन कुमार साह र घटनाको षडयन्त्रमा संलग्न गोरखाको गण्डकी गाउँपालिका-७ घ्यालचोककी १९ वर्षिया अनु परियारलाई समेत कास्की प्रहरीले पक्राउ गरेको छ।
श्रावण १ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। हत्यामा धारिलो हतियार प्रयोग भएको र हत्यामा संलग्न रहेका अन्य ३ जनालाई समेत कास्की प्रहरीले खोजी गरिरहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।