ललितपुर- नख्खु कारागार विस्तार भएर एक हजार जना अट्ने क्षमताको हुने भएको छ।
पहिले झन्डै ५ सय क्षमताको कारागारमा अहिले ५ सय क्षमता थप हुन लागेको कागारागर प्रमुख टेकबहादुर केसीले बताए। पुरुष कैदी/बन्दी राख्ने २ सय ५० क्षमताको एउटा ब्लक र अर्को त्यति नै क्षमताको महिला ब्लक बनाइएको छ। पुरुषलाई राख्न बनाइएको ब्लकमा कैदी/बन्दी बस्न थालिसकेका छन्।
महिला राख्ने ब्लक भने छिट्टै निर्माण सकिएर सञ्चालनमा आउने केसीले जानकारी दिए।
'ठेकेदारले ढिलाइ गरेकाले केही समय लम्बियो, अब असारसम्ममा यहाँ महिला कैदी सारिने छ', कारागार प्रमुख केसीले भने।
पहिले यहाँ सामुदायिक पुनःस्थापना केन्द्र (सिआरसी) र लागूऔषध पुनःस्थापना केन्द्र (डिआरसी) गरेर दुई वटा ब्लक भूकम्पका समयमा क्षतिग्रस्त भएकाले पुनःनिर्माण भइरहेको हो। लामो समयसम्म पालामा बसेका दुई वटा ब्लकका कैदी/बन्दी अस्थायी टहरामा बसिरहेका छन्।
अस्थायी भनिने टहरा पनि पछिसम्म काममा आउने उल्लेख गर्दै कारागार प्रमुख केसीले भने, 'अस्थायी टहरा पनि कैदी/बन्दी राख्न वा कार्यालयका अरू कामका लागि प्रयोग गर्न मिल्ने खालका छन्।'
कारागारमा कैदी/बन्दीका लागि मनोसामाजिक उपचार केन्द्र समेत निर्माण भइरहेको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।