चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुर दलित बस्तीमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको एकीकृत नमुना बस्तीको काम अन्तिम चरणमा पुगेको छ।
बस्ती हस्तान्तरण गर्ने समय नजिकिँदै जाँदा परियोजना सम्पन्न गर्न १ करोड ५० लाख रुपैयाँ अपुग भएको छ। सीताराम कट्टेल 'धुर्मुस' ले बस्ती निर्माणमा जुटेको ९० दिनमा काम धमाधम अघि बढिरहँदा सो रकम अपुग भएको बताएका छन्।
'५ करोड ९५ लाख अनुमानित रकममध्ये अब लगभग १ करोड ५० लाख रकम यो परियोजनालाई अपुग छ', फेसबुकमा निर्माणाधीन बस्तीको फोटो पोस्ट गर्दै उनले लेखेका छन्, 'हालसम्म ४ करोड ३१ लाखभन्दा बढी रकम खर्च भइसकेको छ।' उनले दैनिक सहयोगीहरु जोडिइरहेकाले रकम जुट्नेमा आफू आशावादी रहेको उल्लेख गरेका छन्।
रकम अभाव भए पनि फाउन्डेसनले बस्ती हस्तान्तरण गर्ने निर्धारित मिति माघ २४ गते अगावै स्थानीयहरुलाई घर बुझाउने तयारी गरेको छ। माघ २१ गते बस्ती हस्तान्तरण गर्ने तयारी गरेको कट्टेलले बताएका छन्।
एकीकृत बस्तीमा ५० वटा आवासीय घर, एउटा भ्युटावर, एक सामुदायिक भवन, एक मन्दिर, सार्वजनिक धारा र शौचालय निर्माण हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।