चरिकोट- दोलखाको सदरमुकाम चरिकोटमा राजनीतिक दलले चुनावी अभियानका क्रममा बिजुलीका खम्बामा राखेका ब्यानर, झन्डा लगायतका सामग्री दुई पत्रकारले झिकेर फाल्न थालेका छन्।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र नेपाल प्रेस युनियनका वाग्मती क्षेत्र विशेष संयोजक रमेश खतिवडा चरिकोटलाई सफा र स्वच्छ चरिकोट बनाउने उद्देश्यले विगत केही दिनदेखि सरसफाइ अभियानमा जुटेका हुन्।
उनीहरुले बजारमा कुचो लगाउनेदेखि आफ्नो टोलतिर देखिएका ससाना फोहरसमेत टिपेर फाल्न सुरु गरेका छन्। राजनीतिक दलले चुनाव सकिएपछि पनि ती सामग्री नझिकेपछि अहिले ती झन्डा र ब्यानर धुलो जमेर फोहरमा परिणत भएका छन्।
तिनै फोहरले गर्दा बजारमा फोहर देखिएको भन्दै सदरमुकाम चरिकोट र आफ्नो टोललाई प्रत्येक दिन सरसफाइ गरेर लैजाने बताएका छन्। पत्रकार खतिवडाले आफूहरुले सुरु गरे मात्रै अरुलाई भन्न सुहाउने भन्दै बजारभित्र टाँगिएका ब्यानर र झन्डा निकालेर फालिदिएका छन्। खतिवडा आफैँ भर्याङ लिएर पोल चढेर पोलबाट झन्डा, ब्यानर निकालिरहेका छन् भने मास्केले भर्याङ समातेर र फोहर टिपेर सहयोग गरिरहेका छन्।
यो अभियानमा उनीहरुले चरिकोटवासीलाई पनि सामेल गरिरहेका छन्। यसलाई चरिकोटवासीले खुलेरै प्रशंसा गरेका छन्।
खतिवडा नागरिक दैनिकमा र मास्के नेपाल समाचारपत्र दैनिकमा कार्यरत छन्। बजार सफा र स्वच्छ राख्न बजारवासीलाई सहयोग गर्न दुवै पत्रकारले अनुरोध गर्दै आफ्नो टोलमा प्रत्येक शनिबार सरसफाइ गर्ने बताएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।