कञ्चनपुर- दुई छोरा र गहनासहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६, कसरौलकी २२ वर्षीया चैनीदेवी राना बेपत्ता भएकी छिन्।
एघार दिनअघि परिवारका सदस्यलाई जानकारी नै नदिई उनी लत्ताकपडासमेत लिएर बेपत्ता भएको श्रीमान् २६ वर्षीय चेतु रानाले बताए। आफन्त र सम्भावित ठाउँमा श्रीमतीको खोजी गरे पनि फेला पार्न नसकेको उनले चिन्ता व्यक्त गरे।
८ वर्षीय छोरा अजय र ६ वर्षीय छोरा अविसहित उनकी श्रीमती पुस १६ गते परिवारका सदस्य नभएको मौका छोप्दै घर छाडेर हिँडेकी हुन्। 'माइतीसमेत गाउँमै छ,' वडाध्यक्ष जगता रानाले भने, 'भागेर जाने अरु ठाउँ नै छैन, कसैले बहकाएर भगाएर लगेका हुन सक्छन्।'
छिकेकीसमेत रहेका अध्यक्ष रानाले श्रीमान्सँग ठाकठुक पर्दा 'म पनि मर्छु, छोरालाई पनि मार्छु' भनेर धम्की दिइरहने बताए।
खोजतलासका लागि परिवारका तर्फबाट नगरपालिकाको न्यायिक समिति र इलाका प्रहरी कार्यालय, झलारीमा समेत निवेदन दिइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।