इनरुवा- अत्यधिक जाडो र शीतलहरका कारण सुनसरीमा दुई जना र सिरहामा थप एक जनाको मृत्यु भएको छ।
जाडोका कारण सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरका ६४ वर्षीय रसिलाल ऋषिदेव र हरिनगरा गाउँपालिका–४ का ६५ वर्षीय रौदी साहको मृत्यु भएको स्थानीय समाजसेवी प्रदीप मेहताले जानकारी दिए।
गरीब र विपन्न तथा दलित समुदायका भएकाले प्रहरीमा जानकारी नगराएको कारण जाडोबाट उनीहरुको मृत्यु भएको नभएको यकिन हुन समस्या भएको बताइएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जाडोका कारण सुनसरीमा मृत्यु भएको विषयमा आफूसमक्ष कुनै जानकारी नआएको बताएका छन्।
यस्तै अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको कठ्यांग्रिएर मृत्यु भएको छ। धनगढीमाई नगरपालिका–१२ पूर्वीटोल निवासी ५८ वर्षीय खुसिलाल मुखिया मल्हाको गएराति कठ्यांग्रिएर मृत्यु भएको हो।
यससँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ। यसअघि गत मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६, सीतापुर निवासी ४१ बर्षीय माकोदेवी पासवान र कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी पाँच वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियो।
आइतबार गोलबजार नगारपालिका–४ निवासी शम्भु साहका ६ वर्षीय छोरा लभकुमार र गोलबजार–२, लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७, कसहा निवासी ५५ वर्षीय रामरतन महतोको पनि चिसोकै कारण मृत्यु भएको थियो।
अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरिया लगायतका बिरामी बढेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।