राजविराज- नेपाल पत्रकार महासंघ सप्तरीले हरेक वर्ष प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार चन्दनकुमार यादवले पाएका छन्।
सप्तरीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका यादवलाई नगद २ हजार ५ सय १ सहित यो पुरस्कार प्रदान गरिएको हो। २४औं लोकेन्द्रकुमार स्मृति दिवसको अवसरमा बुधवार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेशकुमार झाले यादवलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरे। यो पुरस्कार नेपाल पत्रकार महासंघ सप्तरी शाखाको महत्वपूर्ण पुरस्कार हो।
सप्तरी सदरमुकाम राजविराज घर भएका महासंघ सप्तरी शाखाका सह–सचिव यादव स्थानीय पत्रपत्रिकामा कार्यरत छन्।
सल्यान जिल्लाको कोटमौला गाविस घर भई सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको ०५० सालमा हत्या भएपछि उनकै स्मृतीमा २०५१ सालमा यो पुरस्कारको स्थापना गरिएको हो। बुढाथोकी दृष्टि साप्ताहिकका सप्तरी प्रतिनिधि तथा स्थानीय सगरमाथा आवाज सप्ताहिकका सह-सम्पादक थिए ।
राजविराजस्थित समाज कल्याण केन्द्रमा बसी एसएलसीको पढाइ पूरा गरेका बुढाथोकीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बिएल दोस्रो वर्षमा अध्ययनरत रहेकै अवस्थामा राजविराज ६ स्थित डेरामा रहस्यमय हत्या भएको थियो।
सोही समारोहमा वातावरणीय पत्रकारिता पुरस्कारबाट पत्रकार प्रमिला चौधरीलाई प्रदान गरिएको छ। नवौं उमा सिंह स्मृति दिवसको अवसर पारी चौधरीलाई सो पुरस्कार दिइएको हो। सप्तरीको शम्भुनाथ नगरपालिका स्थित शखि एफएममा कार्यरत चौधरीलाई प्रदान गरिएको उक्त पुरस्कारको राशि १ हजार १ सय १ छ।
प्रत्येक वर्ष सप्तरीका एक जना युवा पत्रकारलाई प्रदान गरिँदै आएको सो पुरस्कार राजविराजबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक/सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाको अग्रसरतामा दिइँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।