काठमाडौं- विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार अभियुक्त काठमाडौंबाट पक्राउ परेका छन्।
राहदानी नम्बर ०९७०१५६२ बाहक गोरखाको साविक मानबु गाविस–५ माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङ शनिबार पक्राउ परेका हुन्।
इन्टरपोल दोहा कतारको बोर्डर इमिग्रेसेन रेकर्ड अनुसार प्रतिवादी सुरेश कतारमा थिए। त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं गोंगबु मित्रनगरमा फेला पारी उनलाई पक्राउ गरेको हो।
गुरुङ थरकी महिलालाई सुरेशले विभिन्न अश्लील म्यासेज पठाएका थिए। त्यस्तो नगर्न उनका आफन्तले अनुरोध गर्दा उनीहरुलाई समेत इमोमार्फत अपशब्द लेख्दै उनले धम्की समेत दिएका थिए। पीडितले प्रतिष्ठामा आँच आउने काम गरेकोले सुरेश विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्धामा गत वैशाख ८ गते महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी दिएका थिए।
उक्त जाहेरीको आधारमा फरार प्रतिवादी सुरेशविरुद्ध महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयलाई डिफ्युजन जारी गर्न अनुरोध गरेको थियो। उनीविरुद्ध गत जेठ १७ गते डिफ्युजन जारी भएको थियो।
पक्राउ परेका गुरुङविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।