इटहरी- इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका दुई बालिकाको निसासिएर गएराति मृत्यु भएको छ।
अत्यधिक जाडोका कारण कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेको अवस्थामा आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर बेहोस भएको अवस्थामा फेला परेका थिए। तर उपचारकै क्रममा आलमका दुवै छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
मृत्यु हुनेमा ७ वर्षीया आलिया खातुन र २ वर्षीया आयात खातुन छन्। ३५ वर्षीय आलम र उनकी २८ वर्षीया श्रीमती फोसिलाको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी इटहरी–१९ की ७० वर्षीया दैतिनीदेवी चौधरी जलेर मृत्यु भएको प्रहरी चौकी तरहराले जनाएको छ।
आफ्नै घरमा आगो ताप्ने क्रममा लगाइराखेको साडीमा आगो लागेर मंगलबार साँझ गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।