पोखरा- हिमालपारिको जिल्ला मनाङमा अत्यधिक चिसोका कारण जनजीवन थप कष्टकर बन्दै गएपछि स्थानीय प्रशासनको सहयोगमा आगो ताप्ने व्यवस्था मिलाइएको छ।
देशभर नै चिसो बढिरहेका बेला मनाङमा माइनस १६ डिग्री तापक्रम पुगेर जनजीवन कष्टकर बनेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
उनका अनुसार जिल्लाको प्रतिकूल तापक्रमलाई मध्यनजर गरी चामे गाउँपालिका भवन अघिको खुला स्थान, नेस्याङ–४ हुम्दे बजार, नेस्याङ–६ मनाङ बजार, नाशोङ गाउँपालिका भवन अघि, चामे–३ कोतो बजार र ताल बजार लगायत स्थानमा मंगलबारदेखि आगो ताप्ने व्यवस्था मिलाइएको छ।
जाडो बढेसँगै मनाङको कूल छ हजार ५२७ जनसंख्यामध्ये हालसम्म करिब ४ हजार व्यक्ति जाडो छल्न बाहिरी जिल्ला गएका छन्। अत्यधिक चिसोका कारण सरकारी तथा निजी विद्यालय बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।