लहान- केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक बालिकासहित थप दुई जनाको मृत्यु भएको छ। योसहित जिल्लामा चिसोका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरका ४१ वर्षीया माकोदेवी पासवानको मृत्यु भएको हो। अति विपन्न पासवानको कठ्याङ्ग्रिएर आफ्नै घरमा मृत्यु भएको स्थानीयवासी तथा सीतापुर गाविसका पूर्वअध्यक्ष देवनारायण साहले जानकारी दिए।
यस्तै, चिसोकै कारण सोमबार साँझ कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी ५ वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियो। निमोनियाले थलिएकी काजललाई उपचारका लागि लहानस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारजनले बताएका छन्।
यसअघि गत आइतबार गोलबजार नगारपालिका–४ का शम्भु साहको ६ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुरका ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७ कसहाका ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो।
अत्यधिक जाडोका कारण सिरहाको अस्पतालमा रुघा खोकी, ज्वरो, कोल्ड डायरिया लगायतका बिरामी बढेका छन्।
यसैबीच सिरहाको कर्जन्हा नगरपालिकाले मंगलबार वडा नम्बर ६ र ७ का १ सय २० विपन्न गरिब घरपरिवारलाई कम्बल वितरण गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।