विराटनगर– सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रदेशको राजधानी सहमतिमै तोकिने बताएका छन्।
नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकारिता पुरस्कार तथा सम्मान समर्पण कार्यक्रममा बाेल्दै मन्त्री बस्नेतले सरकारले चाँडै नै प्रदेश प्रमुखको नियुक्ति गर्ने र अस्थायी प्रादेशिक राजधानी तोक्ने विषयमा दलहरुबीच सहमति गर्न प्रधानमन्त्रीले सहमति गरी निर्णय गर्न खोजेको बताए।
लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्न नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी गराउँदै उनले कांग्रेसले अभिभावकत्वको भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि त्यस्तै भूमिका निर्वाह गर्ने बताए।
मन्त्री बस्नेतले विराटनगरमा पाँचजना सञ्चारकर्मीलाई सम्मान वितरण गरेका थिए।
शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट न्यू सृष्टि दैनिकका सम्पादक शंकर खरेल, उद्घोष दैनिकका पत्रकार विक्रम निरौला र उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्मालाई सम्मान गरिएको थियो।
त्यस्तै, सोही अवसरमा मन्त्री बस्नेतले ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’बाट मकालु टेलिभिजनका पत्रकार अभयकुमार राई र पत्रकार भारती उपाध्यायलाई समेत सम्मान गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।