इटहरी– इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिलाई अहिले भ्याइनभ्याई छ। इटहरीमा मात्र होइन बाढी प्रभावित हरेक क्षेत्रका जनप्रतिनिधिहरुमा व्यस्तता बढेको देखिन्छ।
दुई दिनदेखिको अविरल वर्षाको कारण तराई तथा समथर क्षेत्रमा काटान र डुबान बढेको छ। इटहरी बजारमा डुबान भएपछि शुक्रबार बिहानैदेखि डोजर र टिप्पर लिएर जनप्रतिनिधिहरु खोला र बस्तीमा पुगेका छन्। उपमहानगरको डोजरले बिहानैदेखि खोला सफा गर्न थालेको छ। इटहरी बीच बजार भएर बग्ने टेङ्ग्रा खोला सफाई नहुँदा खोला भरिएपछि पानी वस्तीमा पसेको छ। खोला बीचमा जमेको फोहोर र झारले खोला थुनिएको हो।
उपमहानगरका ३ वटा जेसिबी र २ वटा टिप्पर ल्याएर सफाइ थालेको छ। इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत केसव बिमलीका अनुसार बिहानैबाट खोला सफाइमा जेसिबी र टिप्पर खटाइएको हो। खोलामा बगेर आएका जलकुम्भी र अन्य खोला थुन्ने फोहोर उपमहानगरको विभिन्न संयन्त्रले निकालिरहेको बिमलीले बताए।
हरेक वर्ष असार र साउनमा आउने सम्भावित बाढीको जोखिम न्यूनीकरण गर्न इटहरीमा खोला सफाइ हुने गरेको थियो। इटहरी बजार क्षेत्र भएर बग्ने टेङ्ग्रा, बुढी र खेती खोलामा डोजर र एस्काभेटरद्वारा बाढी आउनुअगाडि नै सफाइ हुन्थ्यो। यो वर्ष भने स्थानीय सरकारले ध्यान नदिँदा खोला थुनिएको इटहरीका स्थानीय प्रकाश तिम्सिनाले बताए। तिम्सिनाका अनुसार खोला मिचेर बनेका संरचना नभत्काउनु र खोला समयमै सफाइ नहुँदा बाढीको प्रभाव बढेको हो।
सुन्दरहरैचा नगरपालिकामा बुढी र गछिया खोलाको बाढी वस्तीमा पसेको छ। सुन्दरहरैचाका मेयर शिव प्रसाद ढकाल पनि डोजर लिएर वस्ती, खोला तथा प्रभावित क्षेत्रमा पुगेका छन्। उनका अनुसार अहिलेसम्म मानवीय क्षति नभएको र हुन नदिने प्रयास भइरहेको छ।
विगतमा विभिन्न काममा लाग्नु परेकोले यस्तो जोखिम होला भन्ने सोच्न नभ्याएको उनको भनाइ छ।
पूर्वका बिराटनगर, बिर्तामोड, इटहरी, इनरुवा, दमकलगायत सहरहरु डुवानमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।