धादिङ- धादिङको विशालटार नजिकै मंगलबार बिहान भएको बस दुर्घटनाका घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौंमा उपचार गर्ने क्रममा नवलपरासी जिल्ला सुस्ता गाउँपालिका–५ निवासी ६५ वर्षीय रमाशंकर सिंह र ३० वर्षीय बच्चु रामको मृत्यु भएको हो । रमाशंकरको स्टार अस्पताल बल्खु र रामको ट्रमा सेन्टर, वीर अस्पतालमा मा मृत्यु भएको हो।
काठमाडौंबाट ४४ यात्रु लिएर नवलपरासीको त्रिवेणीका लागि गुडेको लु २ ख ६६३० नम्बरको यात्रुबस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित सडकबाट करिब एक सय मिटर तल खसेको थियो।
दुर्घटनामा ३१ जना घाइते भएकामा उपचारका लागि आठ जनालाई ट्रमा सेन्टरमा पठाइएको थियो । ट्रमा सेन्टरमा पठाइएका बिरामीमध्ये केहीलाई स्टार अस्पतालमा समेत लगिएको थियो।
हाल पाँच जना घाइतेको स्टार अस्पताल, एक जना ट्रमा सेन्टर, चार जनाको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र अन्यको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।