जाजरकोट- ढुवानी समस्याका कारण जाजरकोटको बारेकोट क्षेत्रमा दशैंमा समेत चामल अभाव हुने भएको छ।
चामल ढुवानीको प्रक्रियागत झन्झटका कारण नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डिपोमा दशैंअघि चामल पुग्ने अवस्था नरहेकाले अभाव हुने भएको हो । बारेकोट गाउँपालिकाका तोलखाना, धौलाकोट, रोकायगाँउ, मूल्यमा, जिरी, समाकोट, गोठगाउँ लगायतका गाउँमा खाद्य संकट छ।
यातायात असुविधा र बाटोघाटो निकै अप्ठेरो भएकाले निजी क्षेत्रका व्यापारीले बिक्रीको लागि चामल नलिँदा समस्या भएको हो।
गाउँमै उत्पादित अन्नले वर्षको ६ महिना समेत खान नपुग्ने र बाँकी महिना खाद्य संस्थानकै चामलको भर पर्नुपर्ने अवस्था रहेको स्थानीयहरु बताउँछन् । यतिबेला चामलको माग अत्यधिक रहेको बेला खाद्य संस्थानको डिपो रित्तै हुँदा दशैं कसरी मनाउने भन्ने उनीहरुको चिन्ता छ।
खाद्य संस्थानले चालु आर्थिक वर्षको चामल ढुवानीको लागि बोलपत्र आह्वान गरी सपना एन्ड सरोज कन्सट्रक्सन सेवा खलंगा– २ का नाममा ठेक्का स्वीकृत गरिसकेको जनाएको छ । सप्लायर्सलाई ठेक्का सम्झौताको लागि १७ दिन अर्थात् असोज ५ गतेसम्मको म्याद दिइएको छ । असोज ५ गतेदेखि दशैं सुरु भइहाल्ने र ठेक्का सम्झौता गर्ने बित्तिकै ठेकेदार कम्पनीले ढुवानी गर्नेमा आशंका छ ।
'हामीले दशैंअघि बारेकोटमा चामल पुर्याउने कोसिस गरिरहेका छौं', खाद्य संस्थानको वितरण महाशाखाका विभागीय प्रमुख सुरेन्द्रराज विष्टले बताए । उनका अनुसार, सदरमुकाम खलंगामा गत वर्षको मौज्दात पाँच सय क्विन्टल चामल डिपोमा पठाउन जिल्लालाई निर्देशन दिइएको छ।
अहिलेसम्म ढुवानीको कुनै प्रक्रिया थालनी भएको छैन। बारेकोट गाउँपालिका– ४ की वडाध्यक्ष सिर्जना बस्नेतले दशैंअघि चामलको व्यवस्था गर्न सरकारसँग माग गरिन्।
'दुई छाक भात खान पाए हाम्रा लागि त्यही ठूलो दशैं हुने थियो’, उनले भनिन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।