गौर, रौतहट- बढ्दो शीतलहरका कारण रौतहटमा जाडोले कठ्यांग्रिएर ५ जनाको मृत्यु भएको छ।
आइतबार मात्रै परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम र वडा नं ९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसअघि शनिबार गडीमाई नगरपालिका–४ का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका–७ मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका–१ स्थित चिमनी भट्टामा काम गर्न आएका सर्लाहीका नेकमहम्मद अलीको मृत्यु भएको थियो। मृत्यु हुने सबै विपन्न र रोजगारीका लागि रौतहट आएका मजदुर हुन्। एक हप्तादेखि बाक्लो कुहिरोसँगै शीतलहर बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ।
चिसो हावासँगै शीतको वर्षा हुने गरेका कारणले चिसो अत्यधिक मात्रामा बढेको हो। जिल्लामा शीतलहर बढेपछि जिल्ला वन कार्यालयले अहिलेसम्म नौ स्थानमा दाउरा वितरण गरेको जनाएको छ।
यसैगरी सप्तरीमा पनि चिसोबाट थप एक महिलाको मृत्यु भएको छ। तिरुहत गाउँपालिका–१ निवासी अन्दाजी ६५ वर्षीया भटनीदेवी यादवको आज चिसोकै कारण मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। उनको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए।
सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या १६ पुगे पनि प्रहरीले भने ६ जनाको हालसम्म मात्र मृत्यु भएको पुष्टि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।