काठमाडौं- कञ्चनपुरको पुनर्वासमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्।
बेलौरी र पुनर्वासको सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका-१, कोटीहोम टोल बस्दै आएका ३९ वर्षीय बलबहादुर नेपाली (नाम परिवर्तन)ले १४ वर्षीया जेठी छोरीलाई बलात्कार गरेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो।
नेपालीले मंगलबार राति करिब १० बजेतिर आफ्नै छोरीलाई बलात्कार गरेको र बलात्कार गर्दैगर्दाको मोबाइलबाट भिडियोसमेत खिचेको आरोप लगाइएको छ। सो भिडियो नेपालीकी श्रीमतीले मोबाइल चलाउँदा हेरेपछि घटना बाहिरिएको हो। भिडियोमा आफ्नै छोरीको अनुहार देखेपछि श्रीमान-श्रीमतीबीच झगडा सुरू भएको थियो।
झगडा भएपछि मात्र घटना बाहिर आएको प्रहरीले जनाएको छ। घटना बाहिरिएपछि इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले बलात्कारको आरोपमा नेपालीलाई पक्राउ गरेको हो।
तर, घटनास्थल आफ्नो क्षेत्रमा नपरेपछी निज आरोपितलाई इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा जिम्मा लगाइएको बेलौरीका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए।
बलात्कारको आरोपमा पक्राउ परेका नेपालीलाई मेडिकल जाँचका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको त्रिभुवनवस्तीका प्रहरी नायब निरीक्षक भुपाल सिंह थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।