काठमाडौं– असार ३ गते हुम्लास्थित कर्णाली नदीमा जिप खेसेर बेपत्ता भएका मध्ये खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीको शव भेटिएको छ। हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले औंठीबाट शव पहिचान गरेर उनका श्रीमानले शव सनाखत गरेको बताए।
हुम्ला प्रहरीका अनुसार शाहीको शव आज भेटिएको हो। असार ३ गते मध्यान्ह १२ः१४ बजे कर्णाली नदीमा यात्रुबाहक जिप खसेको थियो। उक्त जिपमा हुम्लाको खार्पुनाथमा गाउँपालिकाका उपाध्यक्षसहित १० जना सवार थिए।
घटना भएको २२ दिनपछि उपाध्यक्ष शाहीको शव फेला परे पनि बाँकी ९ जना र जिप अहिलेसम्म फेला पर्न सकेको छैन।
तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु१ज ७१६६ नम्बरको जिप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा दुर्घटना भएको थियो।
दुर्घटनामा परी खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुकु भण्डारी नामले चिनिने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार बेपत्ता बेपत्ता भएका थिए।
यसैगरी खार्पुनाथ गाउँपालिका– १ कि कौर कामी र उनका २ वर्षका छोरासमेत दुर्घटनामा बेपत्ता भएका थिए। जिप खोज्न सशस्त्र प्रहरी बल (एपिएफ)को गोतोखोर टोली हुम्ला गएको थियो।
विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको कमाण्डमा ४ जना गोताखोरको टोली जिप खोज्न गए पनि फेला पार्न नसकेपछि फिर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।