काठमाडौँ - ‘दक्षिण एशियामा मानवअधिकारको अवस्था र दण्डहीनताको अन्त्य’ विषयमा काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगद्वारा आगामी चैत २६ देखि २८ गतेसम्म सम्मेलन हुने भएको हो । सम्मेलनमा दक्षिण एशियाको मानवअधिकारको अवस्था र दण्डहीनताका बारेका विभिन्न पाँचवटा कार्यपत्र प्रस्तुत गरिने आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए।
सम्मेलनमा दक्षिण एशियाली सहयोग संगठन (सार्क) सहित वर्मा, फिलिपिन्ससहित अन्य राष्ट्र पनि पर्यवेक्षकका रुपमा आउने भएको उनले जानकारी दिए। काठमाडौँको याक एण्ड यति होटलमा हुने सम्मेलनमा विदेशबाट करिब ४५ जनाको सहभागिता हुने भएको छ।
यसैबीच, आयोग र दातृ निकाय संस्था गभर्नेन्स फेसिलिटी नेपालबीच सम्मेलनमा सहकार्य गर्नका लागि आइतबार सम्झौता भएको छ।
आयोगका अध्यक्ष अनुपराज शर्मा र फेसिलिटी नेपालका तर्फबाट कार्यक्रम प्रमुख क्यारोलिन भन्डेनाविलीले सम्झौतापत्रमा हस्ताक्षर गरे।
हस्ताक्षरका क्रममा आयोगका अध्यक्ष शर्माले सम्मेलनले नेपाल सुधारोन्मुख प्रजातान्त्रिक प्रक्रिया र दण्डहीनताको अन्त्यका लागि क्रियाशील रहेको छ भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरमा पु¥याउन मद्दत मिल्ने बताए।
गभर्नेन्स फेसिलिटी नेपालका कार्यक्रम प्रमुख भन्डेनाविलीले आयोगसँगको सहकार्यमा आयोजित यस सम्मेलनले नेपालमा दण्डहीनतालाई सम्बोधन गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा समेत आयोगसँग सहकार्य गरी अगाडि बढ्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।