ओखलढुंगा- ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६, डढुवामा आज(बुधबार) बिहान ३ बजे बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन्।
बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए।
घाइतेमध्ये ५ जनाकोे अवस्था गम्भीर छ। गम्भीर अवस्थाका ५ जनालाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ। अन्य घाइतेको उदयपुरको घुर्मीस्थित आस्था हस्पिटलमा उपचार भइरहेको छ।
काँकडभित्ताबाट यात्रु लिएर सोलुखुम्बुको सल्लेरीतर्फ आउँदै गरेको भाग्यरेखा यातायातको रात्रिबस सडकबाट करीब २५ मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।