प्युठान- विपद् व्यवस्थापनका लागि प्युठानमा पहिलोपटक आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ।
प्राकृतिक प्रकोप र अन्य विपत्तिका बेला तत्काल उद्दार, राहतलगायतका काम गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा केन्द्रको स्थापना गरिएको हो। केन्द्रमा चौबिसै घन्टा सेवा सञ्चालनका लागि प्रदेश सरकारबाट १ जना सूचना अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका २/२ जना कर्मचारीहरु खटिएका छन्।
विशेषगरी प्राकृतिक प्रकोप र महामारीका घटनापछि रोकथाम, क्षति न्यूनीकरण, पुनर्स्थापना, स्थान्तरणलगायतका कार्यलाई परिणाममुखी बनाउन जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए।
७७ जिल्लामध्ये प्युठान आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने ५३औं जिल्ला हो। केन्द्र स्थापनाले जिल्लामा आइपर्ने प्रकोप व्यवस्थापन, जनधनको क्षति न्यूनीकरण र मानवीय सहायता उपलब्ध गर्न योगदान मिल्ने अपेक्षा गरिएको छ।
केन्द्रले जिल्लाभरबाट एकीकृत रुपमा सूचना सङ्कलन गरी आपतकालीन अवस्थामा निर्वाह गर्नुपर्ने खोज, उद्धार, राहत, पुनर्स्थापनासहितको कार्ययोजना निर्माणलगायत त्यस सम्बन्धी आवश्यक कार्यहरु गर्नेछ। उक्त केन्द्रमा विभिन्न ३० प्रकारका उद्दारका सामग्रीहरू राखिएको छ भने पूर्व सूचना उपलब्ध गराउने, तत्काल उद्दारका लागि टोली परिचालनमा समन्वय गर्ने, रिपोर्टिङ गर्ने, रेकर्ड राख्ने लगायतका कार्यहरू सञ्चालन हुने बताइएको छ।
प्युठान प्राकृतिक प्रकोपको दृष्टिले उच्च जोखिममा रहेको जिल्ला हो। प्युठानमा चालू आर्थिक वर्षमा बाढी, पहिरो, आगलागी, चट्याङलगायतका घटनाहरुबाट ९ जनाको मृत्यु हुनाका साथै ६ करोडभन्दा बढीको क्षति भएको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।