काठमाडौं- राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ६ हजार ५ सय २० नमूना परीक्षण गरेको छ। विभिन्न निकायबाट आएका १ हजार ७ सय ७० मुद्दामा यी नमूना परीक्षण भएको प्रयोगशालाले जनाएको छ।
गत ११ महिनामा ६ हजार ४ सय ६८ नमूना प्राप्त भएको र गत आवको ७ सय ३० बाँकी नमूनाबाट यो परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ। प्रयोगशालामा विष विज्ञान (टक्सिकोलोजी)मा सबैभन्दा बढी परीक्षण भएको प्रयोगशालाका कायममुकायम कार्यकारी अधिकृत वीरेन्द्रराज शाक्यले बताए।
विष विज्ञानअन्तर्गत सङ्कलन भएका ५ सय ५९ मुद्दाका १ हजार १ सय ४८ नमूना परीक्षण भएको उनले जानकारी दिए। रसाय शास्त्रमा ५ सय, जीव विज्ञान तथा वन्यजन्तुमा १ सय २१, डिएनए १ सय ७३ र विवादित प्रलेखमा ४ सय १७ मुद्दाको परीक्षण भएको थियो।
प्रयोगशालाले यहाँ आएका मुद्दाका आधारमा नयाँ-नयाँ प्रविधि र उपकरण भित्र्याइरहेको कामु कार्यकारी अधिकृत शाक्यले बताए। 'विश्वका अरु देशमा भएका प्रविधि र उपकरणलाई भित्र्याएर प्राप्त मुद्दाको वैज्ञानिकरूपमा परिणाम दिने गरिएको छ,' उनले भने।
यस प्रयोगशालामा सबैभन्दा बढी अदालतबाट नै नमूना आउने गरेका छन्। यीबाहेक राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण केन्द्र, वन विभाग, जिल्ला वन कार्यालय, प्रहरी, श्रम विभाग, जिल्ला प्रशासन कार्यालयलगायतका निकायबाट समेत नमूना आइरहेका छन्।
न्यायिक सुधार समितिको सुझावका आधारमा विसं २०६२ मा प्रयोगशालाको स्थापना भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।